बग्दाबग्दै…
*
भुजङ्गप्रयात
*
दियौ रातको कालिमा केशलाई
निला बादले झुण्डलाई गिज्याई
लजाएर आफै भयो सूर्य लाल
प्रिये राधिके ! केश आफ्नो सम्हाल। १
*
म मत्ला भनूँ या भनूँ केशपाश
कि हो ईशको काव्य लेख्ने प्रयास
अलङ्कारजस्ता अलङ्कार हेरी
म आँखा कहाँ चिम्लिऊँ फेरि फेरि ।२
*
दुई नेत्र मानौँ दुई शायरी झैँ
गरेको छु आनन्दले तस्करी झैँ
पिऊँ लाग्छ आँखाहरूले सिनित्त
र यै मृत्यु काफी छ मेरा निमित्त ।
*
डुबूँ , पौडिऊँ, उत्रिऊँ, फाल हालूँ
यसैमा सबै जिन्दगी खेर फालूँ
मलाई यसो लाग्छ , यस्तो घडीमा
अटिन्थ्यो कि ! ती नेत्रको पोखरीमा
*
कला चन्द्रले बढ्न दिन्छन् नरोकी
त्यसैको सिको गर्न थालेर हो कि
यहाँ भोलिले जन्मने चाह गर्छ ।
हिजोले सधैं आजको डाह गर्छ।
*
सफा प्यार सम्मानको अन्तरीक्ष
कि हौ प्रीतिको हुर्किँदो कल्पवृक्ष
म ओतिन्छु त्यै वृक्षको फेदछेउ
कि छाया कि माया दुवै नित्य देऊ।
*
गरूँ लाग्छ गल्ती, सयौं बार गर्छु
र मिल्ने सबै दण्ड स्वीकार गर्छु
तिमी , बस् तिमी दण्डमा मिल्नुपर्छ
यही दण्ड पीयूषको काम गर्छ।
*
छ छाती कुनाको सबै ठाउँ तिम्रो
गरेको छु यो जिन्दगी नाउँ तिम्रो
कतै पुग्नका निम्ति अभ्यास छाडी
चलाअौँ मिली फेरि यो प्रेमगाडी।
*
कुनै वर्ष, मासान्त या फेरि आजै
कतै मार्गमा कुल्चिएको शिलाझैँ
उठाएर हेरे हुने हो मलाई
प्रतीक्षा कहाँसम्म छाती जलाई
*
सबै भाव पोलूँ सबै शब्द भाँचूँ
स्वयं एउटा प्रेमिलो गीत बाँचूँ
बगेझैँ नदी सिन्धुमा पुग्नलाई
बनी सिन्धु बिर्सूँ म संसारलाई
*
निदाऊँ न ब्यूँझी जुनी लाख लाख
सिरानी बनाएर त्यो दिव्य काख
तिमीमै पुगी टुङ्गिने श्लोक अर्को
छ राधे कहाँ दूर गोलोक अर्को ।
*
तिमीले जिते मागुँला साथ तिम्रो
र मैले जिते मागुँला हात तिम्रो
यही खेल खेलौँ लगाएर बाजी
म ता हुन्छु राजी , कसो राधिकाजी ?
*