गृहपृष्ठ Featured भारतका यी मुख्यमन्त्रीले लिए नेपाली भाषामा शपथ

भारतका यी मुख्यमन्त्रीले लिए नेपाली भाषामा शपथ

भारतको सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम)का अध्यक्ष प्रेमसिंह तामाङले सिक्किमको मुख्यमन्त्रीको शपथ लिएका छन् ।सिक्किममा पीएएस गोलेको नामले प्रख्यात तामाङले सोमबार राज्यपाल गंगाप्रसादबाट शपथ लिएका हुन् । अध्यक्ष तामाङले नेपाली भाषामा शपथ लिएका छन् । उनका साथमा ११ जना विधायकले शपथ लिएका छन् ।

शनिबार उनी एसकेएम विधायक दलका नेता चुनिएका थिए । हजारौं समर्थकका बीच पलजोर रंगशालामा उनले नेपाली भाषामा शपथ लिएका थिए । नेपाली भाषामा शपथ लिइरहँदा ५१ वर्षीय तामाङ निकै उत्साहित देखिन्थे ।

सन् २०१३ मा गठन भएको एसकेएमले ३२ सदस्यीय सिक्किम विधान सभामा १७ सिट जितेको छ । पूर्वमुख्मन्त्री पवन चाम्लिङको दल सिक्किम डेमोक्रेटिक फ्रन्टले भने १५ सिट जितेको छ । २४ वर्षदेखि नेतृत्व गर्दै आएको चाम्लिङ सरकारलाई एसकेएमले धक्का दिएको छ ।तामाङसँगै ११ मन्त्रीहरूले सपथ लिइरहँदा हलमा खचाखच समर्थक र सर्वसाधारण निकै उत्साहित देखिएका थिए ।

नरेन्द्र मोदी सर्वसम्मत नेता निर्वाचित, अब प्रधानमन्त्री बन्लान् ?

भारतीय जनता पार्टी (भाजपा) तथा भाजपा नेतृत्वको नेसनल डेमोक्रेटिक एलायन्स (एनडीए)को संसदीय दलको नेतामा भाजपा नेता तथा निवर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी सर्वसम्मत चुनिएका छन् ।

भारतीय लोकसभा निर्वाचनमा भाजपाले प्रचण्ड बहुमत प्राप्त गरेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार राष्ट्रपतिलाई भेट गरी राजीनामाको प्रस्ताव गर्दै नयाँ प्रधानमन्त्री चयनका लागि मार्ग प्रशस्त गरेका थिए ।

भारतीय संसदीय परम्परा अनुसार बहुमत प्राप्त दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री बनाइने भएकाले निवर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीलाई संसदीय दलको नेता चयन गरिएको हो । भाजपा नेता मोदीलाई भाजपाको संसदीय दलको नेताका रूपमा भाजपा अध्यक्ष अमित शाहले प्रस्ताव गरेका थिए। नेता राजनाथ सिंहले प्रस्तावलाई भाजपा संसदीय दलको तर्फबाट समर्थन गरेका थिए ।

भाजपा नेता सिंहद्वारा मोदीको नाम भाजपा तथा एनडीएको संसदीय दलको नेताका रूपमा सर्वसम्मत चयन भएको घोषणा गरेका थिए । अप्रिल ११ देखि मे १९ सम्म गरी विभिन्न सात चरणमा लोकसभाको ५४२ सीटका लागि भएको निर्वाचनमा नरेन्द्र मोदीको दल भाजपा एक्लैले ३०३ सीट प्राप्त गरेको भारतीय निर्वाचन आयोगले जानकारी गराएको छ ।

संसदमा बहुमत पुग्नका लागि २७२ सीटको आवश्यकता हुन्छ भने यो सदस्य संख्या भाजपाका लागि दुईतिहाइ पुग्नका लागि ९ सीट कम रहेको हो । भाजपाको नेतृत्वमा रहेको गठबन्धन एनडीएको लोकसभामा जम्मा ३५० सीट पुगेको छ ।

लोकसभामा दोस्रो ठूलो दल भारतीय नेसनल कंग्रेस (कंग्रेस–आई) ले ५२ सीट ल्याएको छ भने उसको गठबन्धन यूनाइटेड प्रोग्रेसिभ एलायन्स (यूपीए) ले ८५ स्थानमा विजय हासिल गरेको छ । अन्य दल तथा स्वतन्त्रले गरी १०७ सीट ल्याएका छन् ।

प्रमुख निर्वाचन आयुक्त सुनिद अरोराले निर्वाचन परिणामको औपचारिक जानकारी शनिबार भारतीय राष्ट्रपति रामनाथ कोविन्दलाई गराएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

सम्बन्धित् समाचार