काठमाडौं । विभागीय टिम नेपाल पुलिस क्लबले ललित स्मृति कप यू–१८ च्याम्पियनसिप फुटबलमा विजयी सुरुवात गरेको छ । आइतबार भएको पहिलो खेलमा जावलाखेल युथ क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै पुलिसले विजयी सुरुवात गरेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पुलिसलाई जित दिलाउन कपिलवस्तुका सन्जु सेनले दुई गोल गरे ।
जावलाखेलका लागि कप्तान साचु गुरुङले एक गोल फर्काए | खेलको १६ औं मिनेटमा सन्जुले गोल गर्दै पुलिसलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको ३० औं मिनेटमा साचुले गोल गर्दै जावलाखेललाई खेलमा फर्काए । खेलको ९० औं मिनेटमा सन्जुले व्यक्तिगत दोस्रो गोल गर्दै पुलिसलाई २-१ को जित दिलाए ।
जितसंगै समूह ‘सी’ बाट पुलिसले ३ अंक जोडेको छ । जावलाखेलले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।