गृहपृष्ठ Featured दुई महिनाको आयु पाएका उनी २५ वर्षपछि सगरमाथा चढेर फर्किए!

दुई महिनाको आयु पाएका उनी २५ वर्षपछि सगरमाथा चढेर फर्किए!

प्रकाशित मिति:

हेर्दा सरल। चट्ट मिलेको जीउडाल। पहिले बिग्रेर अहिले सुध्रेको मान्छे। उसको नाम हो गोपाल श्रेष्ठ। समाजमा परिवर्तन गर्ने अठोट र सोच बोकेको मान्छे। पहिले राष्ट्रिय फुटबलमा ए डिभीजनको प्लेयर। एचआइभी संक्रमण भएपछि सहज मरणको विकल्प खोज्दै हिँडेको मान्छे। तर त्यही एचआइभीले धक्का दिएर पनि संघर्ष गर्न सिकेका उनी।  आत्मलान्छाना र प्रतडानले जीवनबाट हार मानिसकेका थिए उनले। मृत्युवरण गर्छु भन्ने सोचाइमा पुगिसकेका थिए कुनै बेला। यो उनको निचोड थिएन, चिकित्सकले नै दिएका थिए २/३ महिनाको आयु। चिकिस्तकले २ महिनामात्रै बाँच्छ भनेका उनी २५ वर्ष बित्यो तर उस्तै र जीवितै छन्। उनलाई लाग्यो यसै मर्नेउसै मर्ने। समाजमा तिरस्कृत भएपछि सजिलोसँग मर्ने उपाय खोज्न थाले। लागूपदार्थ खाएमा त्यसैले सजिलै ज्यान लिने भन्दै त्यसको कुलतमा फसे। बाँच्ने दिन र श्रीमतीको त्यो बोली   एचआइभी गाँज्यो, लागूपदार्थका दुर्व्यसनी भए।

त्यसो गरेर पनि नौ वर्ष बितिसकेको थिए। त्यही बेला श्रीमतीले भनेको एक शब्दले उनमा बाँच्ने आशा पलायो र जीवनले कोल्टे फेर्यो। ‘तिम्ले हाम्लाई पनि मार्छाै’, श्रीमतीले भनेको यति हो। यही शब्दले गोपालको जीवनलाई नयाँ मोड दियो। चिकित्सकले मर्छ भनेको पनि २५ वर्ष बितिसक्यो। तर अहिले उनी अरु जस्तै फूर्तिला देखिन्छन्, ज्यानमा कुनै कमजोरी देखिन्न झट्ट हेर्दा। श्रीमतीकै बलले उनी पुनर्स्थापना सेन्टर पुगे। त्यहीँबाट हो उनले जीवनको मूल्य बुझेको। उनले त्यहाँ एचआइभी संक्रमित लुकेर बस्न नहुने बुझे। संक्रमित नै लुकेर बस्यो भने समाजको अवस्था के होला भन्ने प्रश्नले उनलाई पिरोल्यो। घर परिवारको दबाब हुँदाहुँदै पनि उनी आफू एचआइभी संक्रमितका रूपमा खुले। पछि उनले परिवारका सदस्यलाई सम्झाए, बुझाए। परिवारले पनि उनको कुरा स्वीकार्‍याे। सार्वजनिक भएपछि झन् समस्या जब उनी आफू एचआइभी संक्रमितकारूपमा सार्वजनिक भए तब उनीमाथि अनेकन प्रश्न उठ्न थाले। साथीहरूले नै उनीमाथि प्रश्न गर्न थाले। किन सार्वजनिक भएको? के फाइदा छ? तिम्लाई खान लाउन पुगेकै छ। परिवारका सदस्यहरूले हेरचाह गरेकै छन्। यस्ता प्रश्नले उनी आजित हुन्थे। त्यति बेला साथीलाई भन्थे, ‘म सार्वजनिक हुने मात्रै होइन। केही त्यस्तो काम गर्छु जसले समाजका अरू लागूपदार्थ दुर्व्यसनीहरू र एचआइभी संक्रमितलाई हेर्ने दृष्टिकोणलाई परिवर्तन गर्न सकूँ।’ अनि सगरमाथा चढ्ने भूतले छोयो एचआइभी र लागूपदार्थको तनावले ग्रसित गोपाललाई सन् २००९ मा सगरमाथा चढ्ने भूत जाग्यो। ‘सगरमाथामा जोको जाने हिम्मत गर्दैनन्, गएकाहरू पनि हत्तपत्त फर्केर आउन्नन्,’ यो भनाइ जब गोपालले सुने, तब सगरमाथाबारे अध्ययन गर्न थाले। त्यसपछि बुझे सगरमाथा चढ्नु भनेको ५०/५० को जोखिम हो।

उनलाई हाइअल्टिच्यूडसँग जुध्नुपर्ने कुरा एकदमै जोखिमयुक्त लाग्यो। त्यसपछि बाचा गरे, ‘ठीक छ म जुध्छु र सफल हुने छु।’ त्यसैबेलादेखि उनले यसलाई बहसको विषय बनाए। सगरमाथा चढ्ने कुरा गर्दा कतिले चुट्किला सुनाए जसरी हाँसेर उडाएको घटना उनको मानस्पटलमा ताजै छ।अरुले घृणा गरे पनि उनले नियमित व्यायम र योगाबाट थप ऊर्जा लिए। यही क्रममा उनले मनाङको थोरङ्ला पास गरे। हिमाल चढ्ने आँट त्यसले झन् थप्यो। उनी लगायतको समूह मिलेर सगरमाथा चढ्ने ‘स्टेप अप क्याम्पिङ’ सुरु गरे।  पहिलो यात्रामा पाँच साथीको एकै चिहान पहिलो पटक २८ लाख रुपैयाँ संकलन गरेर २०७२ वैशाखमा सगरमाथा आरोहणमा गए। उनीहरू क्याम्प २ बाटमाथि उक्लने समय महानभूकम्प आयो। उनी आफू निकै ‘लक्की’ भएको ठान्छन्। भगवानले बचायो। यो घटना सम्झँदा उनी भक्कानिए।  सगरमाथा चढ्दै गर्दा चिया पकाएर दिने भाइ (साथी) सहित पाँचजना साथी भूकम्पमा गुमाए। उनलाई पनि रेस्क्यू गरेर बचाइएको हो। यो अप्ठ्यारोबाट बाँचेर आएका उनलाई अर्काे आपत् आइलाग्यो। उनको स्टेप अप क्याम्पिङको समिति नै भंग भयो। त्यो समितिले अब नयाँ समिति बनाएर जाने भए जाऊँ, होइन भए हामी सक्दैनौँ भन्यो। उनमा अब झन् हिमाल चढ्न सक्छु भन्ने लाग्यो। नयाँ समिति बन्यो। निरन्तर लागि रहे। सबैले राम्रो गर भनेर हौसला थपिदिए। हौसला दिनेले सगरमाथा चढ्न पैसा पनि चाहिन्छ भन्ने बिर्सन्थे।   …र सफल भए  उनलाई सगरमाथा चढ्न लागि सन् २०१९ मे २२ को अनुमति आयो। यो क्रममा उनलाई प्रकृतिले धेरै परीक्षा लियो। उनी आधार शिविरबाट क्याम्प-३ मा जाने बेलामा लडे। लडेपछि दाहिने घुँडामा चोट लाग्यो। लेगामेन्ट च्यातियो। यसअघि पनि त्यही घुँडाको शल्यक्रिया भएको थियो। त्यहीँ चिकित्सकले यो पटक आरोहण रोक्नुपर्ने सल्लाह दिएका थिए। चिकित्सकले समयमै उपचार नभए घुँडा काट्न पर्ने बताएका थिए।

मैले ‘यति धेरै मान्छेले साथीले साथ दिएका छन्। पहिलो पटक पनि फर्किएँ। अब म फर्कन्न भनेँ।’ पेन किलर खाँदै उनको टोली क्याम्प २ मा पुग्यो। ‘जति समस्या भए पनि यो अभियान रोक्न हुन्न भनेर चढ्दै थिएँ’, उनले सुनाए। क्याम्प ३ अनि क्याम्प ४ मा टोली उक्लियो। उनको साथमा रहेका शेर्पा फुर्वाले मौसम राम्रो रहेको बताउँदै ३ घण्टा मात्रै रेस्ट गर्न भने।  सगरमाथा चढेको उनले पढेको मात्रै थिए। सगरमाथा चढ्न किन जो कोहीले आँट गर्दैनन् भन्ने बल्ल थाहा पाए। कुनै बेला उनको शरीरले आँट गर्दैनथ्यो। पछाडि फर्केर हेर्दा शक्ति बटुलेका साथीका अनुहार देखेर उनी फेरि उक्लन्थे। हिम्मत नै उनको साथी थियो। अनि जेठ ८ गते बिहान ८ बजे सगरमाथा शिखरमा पाइला टेके। नेपालको झण्डा झिकेर फहराए। पोखरा महानगरपालिकाको लोगो झिकेर फहराए। शिखर चुमेपछि उनले एउटा युद्ध जिते। अब झर्ने पिरलो  सगरमाथा चढ्न भन्दा पनि गाह्रो झर्न रहेको गोपालको अनुभवले बताउँछ। उनलाई फर्कने बेला लागेको थियो, तल झरेर आफ्नो क्याम्पिङका साथीहरूसँग हात मिलाउन पाउँला कि नपाउँला। अनुभवहरू आफ्नै मुखले भन्न पाउँला कि नपाउँला। समाजमा गएर मानसिक रुपमा सबल छौँ भन्न पाउँला कि नपाउँला? यसैले पिरोलेको थियो उनलाई।अझै पनि लागिरहेको छ कसैले संक्रमित भएकै कारण लान्छना नलगाओस्। उनी रोए र भने, ‘म पनि नेपालीको छोरो हुँ।’  टानको रेस्क्यू  उनी सगरमाथाको चुचुरोमै आँखा नदेख्ने भइसकेका थिए। त्यतिबेला उनले आफ्ना शेर्पासँग भनेका थिए, ‘भाइ म टोटल्ली स्नो ब्लाइन्ड भइसकेको छु, तर मलाई तल झर्नुछ, तिम्ले नछोड है। शेर्पा भाइले मलाई म छु भन्दै ढाडस दिन्थ्यो। नभन्दै उनले समातेरै ल्यायो।’ ‘उसले भनेको मान्दै मेरा साथीहरूको साथ र मायाले कति ठाउँमा लड्दै कति ठाउँमा घिसार्दै क्याम्प ४ मा ल्यायो। उसलाई गाह्रो भएकाले शेर्पाको टोलीले तल खबर पठायो गोपाललाई समस्या छ।

त्यो खबर टान पश्चिमाञ्चल पोखराले थाहा पायो।  थाहा पाएलगत्तै टान पश्चिमाञ्चल च्याप्टरका अध्यक्ष हरि भूजेल लगायतको टिमले हेलिकोप्टर पठायो। क्याम्प २ बाट गोपाललाई लुक्ला झारियो। सामान्य उपचार गरियो। भोलिपल्ट काठमाडौँको ग्राण्डीमा भर्ना गरियो। हिउँले बन्द भएका आँखा खुले, फेरि देख्न थाले। शरीरका मांशापेशीले काम गर्न थाले। पोखरा महानगरको सम्मान  सगरमाथाको आरोहण, त्यो पनि विश्वमै एचआइभी संक्रमित पहिलो ब्यक्तिबाट। सरमाथाबाट फर्किएपछि गोपालको गृहनगर पोखराले बिहीबार सम्मान गर्‍यो। पोखरा-७ रत्नचोक निवासी गोपाललाई बिहीबार महानगरमा आयोजित कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले दोसल्ला ओढाएर सम्मान गरे। सगरमाथा चढेर पोखराको शानलाई उँचो बनाएको भन्दै श्रेष्ठलाई महानगरले सम्मान गरेको हो। ५६ वर्षीय श्रेष्ठले गत जेठ ८ गते सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर महानगरको लोगो फहराएका थिए।  कार्यक्रममा महानगरका प्रमुख जिसीले सगरमाथाको सफल आरोहरण गरेकोमा श्रेष्ठलाई बधाई दिँदै साहसका साथ धैर्यसहित लागि परेमा लक्ष्यमा पुग्ने सकिने सन्देश श्रेष्ठले दिएको बताए। ‘श्रेष्ठजी प्रेरणाको स्रोत हुनु भएको छ,’ जिसीले भने, ‘कुनै रोग लाग्यो भन्दैमा हीनताबोध गर्नु हुन्न भन्ने सन्देश उहाँले गरेको सगरमाथा आरोहणले दिएको छ।’ रोग लाग्दैमा कोही व्यक्ति पनि असक्षम वा कमजोर नहुने श्रेष्ठले प्रमाणित गरेको भनाइ जिसीको छ। महानगरपालिका प्रवक्ता धनबहादुर नेपालीले गोपाल पोखराको शान र गौरव भएको बताए। उनले गोपालको नाम विश्व कीर्तिमानमा दर्ज हुने बताए।

सम्बन्धित् समाचार