गृहपृष्ठ बिचार पढ्ने बानी बसाल्ने सूत्र

पढ्ने बानी बसाल्ने सूत्र

प्रकाशित मिति:

पठनमा रमाउन त्यस्तो विधि पढन्ते भइरहनु पर्दैन । तपाईं पठनमा रमाउन सक्नुभयो भने यसले कुनै विषयमा जानकार मात्र बनाउँदैन, गर्न आँटेका काममा पनि सहयोग पु¥याउँछ । पठनले हाम्रो सोचाइ र चिन्तनलाई फराकिलो बनाउँछ । साथीभाइको जमघटमा होस् या प्रोफेसनल कुराकानी गर्दा नै किन नहोस्, पठनमा रुचि हुनेहरुमा कुरा गर्ने मेसो पनि हुन्छ । तर हिजोआज अधिकांशको एउटै गुनासो हुन्छ, पढ्न त मन छ तर के गर्नु ? फुर्सदै हुन्न । साँच्चिकै हामीलाई पढ्न मन छ भने र केही कुरामा ध्यान दिन सक्यौँ भने पढ्नको लागि समय छैन भनिराख्नु पर्दैन ।

थोरैबाट सुरुवात 
एकैचोटी धेरै पढ्न खोज्दा पढ्न सकिँदैन । भर्खरै पढ्न सुरु गरिएको छ भने कुन कुन पुस्तक पढ्ने भनेर छनोट गर्नुस् । पूरा गर्नै नसक्ने प्रतिबद्धता नगर्नुस् । आज यति पढिसक्छु भनेर सहजताको साथ सुरु गर्ने । पुस्तक पढ्ने बानी नभएकाले आज ५० पाना पढिसक्छु भनेर प्रतिबद्धता गर्न सकिन्छ । यसो गर्दा पढ्ने तनाव हुँदैन । भोलि पनि त्यही पुस्तक सुरुवात गर्ने र पढ्दा तनाव महसुस भएन भने अघिल्लो दिनको भन्दा  १० पाना अरु बढाउन सकिन्छ ।

आफ्नो उद्देश्य आफैँले बनाउने 
पढ्ने उद्देश्य आफैँले बनाउने हो । अरु कसैले भन्दैमा बानी बस्दैन । अरुले भनेको आधारमा पढाइ त सुरुवात गरिएला तर निरन्तरता दिन गाह्रो हुन्छ । सन् २००९ मा अमेरिकी एक विश्वविद्यालयमा गरिएको अनुसन्धानले जसले अब यसरी पढ्छु भनेर साथीभाइमाझ योजना सुनाउँछ, कालान्तरमा उनीहरुले नपढ्ने देखिएको थियो । किन यस्तो हुन्छ त ? अनुसन्धानअनुसार आफू कसरी पढ्ने भन्ने योजना अरुलाई सुनाउँदा अर्काे व्यक्तिले तिमीले भनेजसरी हैन, मैले भनेजसरी पढ भनेर योजना सुनाइँदिदा र त्यो योजना अँगाल्दा आफ्नो योजनाले विफल भएको देखिएको छ । त्यसकारण केही नितान्त व्यक्तिगत योजना नसुनाएकै राम्रो ।

अत्यास लाग्दा नआत्तिनुस् 
अधिकांश पाठकलाई जतिसुकै मज्जाको पुस्तक भए पनि बीचमा पुगेपछि पढ्न अल्छी लाग्छ । मैले यो किन यो पढिरहेको छु भनेर अत्यास लाग्छ तर पिर नमान्नुस् । जे हुन्छ राम्रैको लागि हुन्छ । पढिरहेको पुस्तकबाट केही ज्ञान प्राप्त गरेजस्तो लाग्दैन वाहियात लाग्छ भने त्यो छाडिदिनुस् र अर्काे सुरु गर्नुस् । ‘द ह्यापिनेस प्रोजेक्ट’का लेखक रविनले भनेका छन्– जित्ने मान्छे कहिल्यै भाग्दैन । ऊ अघि बढ्छ । पढ्दापढ्दै अल्छी लाग्यो भने तपाईं झन् धेरै पुस्तक पढ्नुस् राम्रा राम्रा । अल्छी लाग्यो भनेर बीचैमा छाड्ने हो भने कहिल्यै पढिदैन ।

जे मन पर्छ त्यही पढ्ने 
सुरुवाती चरणमा आफ्नो रुचि के हो थाहा नहुन सक्छ । त्यतिबेला जुनसुकै पुस्तक पनि पढिन्छ तर केही फरक स्वादका पुस्तक पढ्दै गएपछि भने आफ्नो रुचि ठ्याक्कै थाहा हुन्छ । मान्छेको स्वभावअनुसार रुचि फरक हुने गर्छ । कसैलाई आख्यान मन पर्ने हुन सक्छ भने कसैलाई गैरआख्यान । आफू जे पढ्दा रमाउन सकिन्छ, त्यही विधा रोज्न सकिन्छ ।

पुस्तक नछुटाउनुस् 
जहाँ जाँदा पनि आफूसँगै पुस्तक लैजानुस्, नछुटाउनुस् । यस्तो अवस्थामा तपाईंले थोरै फुर्सद हुँदा वा मौका पाउनेबित्तिकै पढ्न सक्नुहुन्छ । कसैलाई पर्खिरहनुभएको छ, अस्पतालमा लाइनमा हुनुहुन्छ भने यस्तो बेलामा तपाईंको सबैभन्दा राम्रो साथी पुस्तक नै बन्न सक्छ ।

पढ्नको लागि समय छुट्ट्याउनुस् 
सबैभन्दा ठूलो कुरा पढ्नका लागि समय छुट्ट्याउनु हो । जब हामीले समय नै छुट्ट्याएर, यो महŒवको काम हो र यसलाई म यति समयमा पढ्छु भनेर प्रतिबद्ध भयौँ भने केही दिनभित्रमा नै हामी त्यो समय तालिकामा अभ्यस्त हुन्छौँ । हामी अधिकांश समय सामाजिक सञ्जाल र युट्युबमा बिताइरहेका हुन्छाँै । सामाजिक सञ्जाल र युट्युब चलाउने समय घटाइदिने हो भने पढ्नका लागि समय निकाल्न सकिन्छ ।

पढ्ने कुरालाई चुनौतीका रुपमा लिनुहोस् 
निरन्तर ३÷४ घण्टा लगातार पढ्नु कम्ती त चुनौतीको कुरा हैन ! पढाइलाई हलुका रुपमा नलिई चुनौतीको रुपमा लिनु पर्छ । त्यसरी लिँदा समयको व्यवस्थापन मिल्छ । सँगै अरुले के पढिरहेका छन् भनेर चिया गफ पनि गर्न सकिन्छ ।

पढ्ने वातावरण आफैँ सिर्जना गर्ने
वरिपरिको वातावरण आफैँ सहज हुँदैन, न त अरुले नै सहज बनाइदिन्छन् । आफूलाई कस्तो वातावरण चाहिएको छ, त्यसैअनुसार वातावण सिर्जना गर्ने हो । घरमा होहल्ला हुन्छ, आफ्नै फोन आएर हैरान भइन्छ भन्ने छ भने हल्लाकै बीचमा पढ्ने बानी बसाल्नु पर्छ र पढ्ने बेलामा मोबाइललाई बन्द गर्न सक्नुपर्छ ।

पुस्तक आफैँ किन्ने 
जसरी हामी कपडाका लागि तथा अरु कामका लागि भनेर पैसाको जोहो गर्छाैं, पुस्तकको लागि पनि जोहो गर्नुपर्छ । पुस्तक मागेर हैन, आफैँ किनेर पढ्ने बानी बसाल्नुपर्छ । जब पुस्तक पढिसकिन्छ, त्यसपछि त्यो पुस्तकबारे धारणा बनाउन सकिन्छ । त्यसलाई लेखेर अथवा छलफल गरेर प्रस्तुत गर्न सकिन्छ ।
प्रविधिको अधिकतम प्रयोग गर्ने

धेरै जसोलाई प्रिन्ट पुस्तक नै मन पर्छ । पुस्तकको सुगन्ध, नयाँ पानालाई सुम्सुम्याउनुको मज्जा नै छुट्टै हुन्छ । स्क्रिनमा पढ्नुभन्दा पुस्तकै हातमा लिएर पढ्नु कयौँ गुना आनन्द हुन्छ ।
सधैँभरि साथमा प्रिन्ट पुस्तक नै लिएर हिँड्न नमिल्न सक्छ । त्यसको विकल्प स्वरुप अडियो बुकलाई लिन सकिन्छ । हातहातमा स्मार्टफोन हुनेले सुन्न र स्क्रिनमा पढ्न सहज हुन्छ ।

सोेचाइ बदल्नुस्
पढ्ने कुरालाइ विशेष केही नठान्नुस् । पढ्नु पनि प्राकृतिक कुरा हो, जसरी हामी खान्छौँ श्वास फेर्छांै, सोच्छाैँ, त्यस्तै पढ्नु पनि एउटा काम हो भन्ने सोच्नुस् । यसरी सोच्दा पढ्नै पर्ने छ भनेर चिन्ता लिइरहनु पर्दैन ।

पढ्ने कुरा धेरै छन् 
अखबार, म्यागेजिन, अनलाइन सामग्रीहरु प्रशस्तै पाइन्छन् । फुर्सद भयो कि पढ्न तयार भइहाल्नुस् । जस कारण तपाईंको पढ्ने गति बढ्न थाल्छ ।

धेरै थरिका पुस्तक पढ्ने 
पुस्तकहरुको विविधता यति धेरै छ कि हामीले के गर्दा के पढ्ने भनेर छुट्ट्याउन सक्छौँ । घुम्दा पढ्ने, घरमा गहिरो अध्ययन गर्ने, रेस्टुराँमा पढ्ने विषयहरु कि त किताब कि त इबुक छुट्याउनु पर्छ । यसरी ठाउँअनुसार, मुडअनुसार र इबुक वा किताबलाई छुट्याउन थाल्नु भएपछि तपाईंको पढ्ने जाँगर पनि बढ्दै जान्छ ।
जति पढ्दै गयो, उति धेरै नयाँ कुरा थाहा हुँदै जान्छ । यसै समय खेर फाल्नु भन्दा पढ्नुका फाइदा बुझ्दै जानुहुन्छ ।

सम्बन्धित् समाचार