गृहपृष्ठ खबर सुकुम्बासी हटाउन रुपन्देहीमा चल्यो डोजर

सुकुम्बासी हटाउन रुपन्देहीमा चल्यो डोजर

प्रकाशित मिति:

बुटवल उपमहानगरपालिका–१ मा सरकारी जग्गा कब्जा गरेर बसेका १६ घरपरिवारलाई बल प्रयोग गरेर हटाइएको छ । जग्गा कब्जा गरी अस्थायी टहरो निर्माण गरेर ०२८ सालदेखि बस्दै आएकालाई उपमहानगरले बिहीबार हटाएको हो ।

उपमहानगरले धेरैपटक निर्देशन दिँदा पनि अटेरी गरेर बस्दै आएका उनीहरूलाई अतिक्रमित जग्गा छाड्न नगरपालिकाले सूचना जारी गरेको थियो । त्यही सूचनालाई आधार बनाएर उनीहरू अन्तरिम आदेश माग गर्दै उच्च अदालत तुलसीपुर बुटवलमा गएका थिए ।

अदालतले उनीहरूको दाबी नपुग्ने र अन्तरिम आदेश जारी गर्नु नपर्ने आदेश गरेपछि नगरपालिकाले डोजर लगाएर हटाएको वडाध्यक्ष महेन्द्र लिगलले बताए । अतिक्रमित बस्ती हटाएको ठाउँमा उपमहानगरले संग्रहालय र बहुउपयोगी कभर्डहल निर्माण गर्ने भएको छ । बुटवल उपमहानगरपालिका–१ स्थित साबिक बिटौरी कित्ता नं. ८३ को २ कट्ठाभन्दा बढी जग्गामा ०२८ सालदेखि आफूहरू बस्दै आएको भन्दै १६ परिवारले जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) दिन माग गरेका थिए ।

टिनले छाएका जीर्ण र सामान्य छाप्रोमा नौ परिवार मुस्लिम र सात परिवार हिन्दु समुदायका मानिस बस्दै आएका थिए । ‘हामी यहाँ बस्न थालेको ४७ वर्ष भयो,’ हरिप्रसाद विश्वकर्माले भने, ‘अर्को विकल्पबिना हटाउँदा हामी घरबासविहीन भयौँ ।’ नगरपालिकाले सामान्य सूचनासमेत नगरीछाप्रामा डोजर लगाएको उनले बताए ।

त्यहाँ बसेका मुस्लिम समुदायका अधिकांशले नेपाली भाषासमेत बुझ्दैनन् । धेरै परिवार अतिविपन्न छन् । ४० वर्षीय समसुल हकले जंगल मात्र भएको जग्गा संरक्षण गरेर बसेकामा राज्यले विकल्पबिना हटाएर अन्याय गरेको गुनासो गरे । स्थानीयले अतिक्रमित बस्ती हटाएर जग्गा संरक्षण गर्न माग गर्दै आएका थिए । नगरले हटाउन चासो नदिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको थियो ।

अख्तियारको त्यही निर्देशनअनुसार ०७३ असार १९ गते पनि जग्गा खाली गर्न उपमहानगरपालिकाले ३५ दिने सूचना निकालेको थियो । तर उनीहरूले छाडेका थिएनन् । ‘पटकपटकको निर्देशन अटेर गरेपछि बल प्रयोग गर्‍यौँ,’ वडाध्यक्ष लिगलले भने, ‘सार्वजनिक सम्पत्ति संरक्षण गर्नु स्थानीय सरकारको दायित्व हो ।’ पीडितलाई अस्थायी बसोबासको व्यवस्था नगरपालिकाले गर्ने उनले बताए ।

सम्बन्धित् समाचार