विश्वकप क्रिकेटको बहुचर्चित खेलमा भारतले पाकिस्तानलाई पराजित गरेको छ । गएराति म्यान्चेस्टरको ओल्ड ट्राफोर्डमा भएको खेलमा भारत ‘डिएल मेथड’का आधारमा ८९ रनले विजयी भयो ।
खेलमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३ सय ३६ रन बनाएको थियो । भारतका लागि ओपनर रोहित शर्माले १ सय ४० रनको शानदार प्रदर्शन गरे । बलिङतर्फ पाकिस्तानका मोहमद आमिरले ३ विकेट लिए ।
जवाफमा ३ सय ३७ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ब्याटिङ गरिरहँदा वर्षाको कारण खेल केही समय रोकियो । यसपछि ४० ओभरमा झारिएको खेलमा पाकिस्तानलाई जितका लागि ‘डिएल मेथड’को आधारमा ३०२ रनको नयाँ लक्ष्य दिईयो । तर पाकिस्तानले ४० ओभरमा ६ विकेट गुमाएर २१२ रन मात्रै बनाउन सक्यो ।
पाकिस्तानका लागि फकर जमानले ६२ रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीलाई जिताउन सकेनन् । भारतका विजय शंकर, हार्दिक पाण्डेया र कुलदिप यादवले २–२ विकेट लिए ।
जारी प्रतियोगितामा भारतको यो तेस्रो जित हो भने पाकिस्तानको तेस्रो हार हो । ४ खेलबाट ७ अंक जोडेको भारत अंक तालिकाको तेस्रो स्थानमा रहेको छ ।
यो हारसँगै पाकिस्तानले विश्वकपमा भारतविरुद्धको हारको श्रृंखला तोड्न सकेन । भारतविरुद्ध विश्वकपमा पाकिस्तानको यो लगातार सातौं हार हो ।