वाणगंगा र गजेहडा भूपु सैनिक खानेपानी तथा सरसफाई उपभोक्ता समितिको वार्षिक समिक्षा, सार्वजनिक सुनुवाई तथा फोहोर व्यवस्थापनको लागि डस्टविन वितरण कार्यक्रम सम्पन्न भएको छ । वाणगंगा र गजेहडा भूपु सैनिक खानेपानीको आयोजनामा दर्शन समाज कपिलवस्तुको सभाहल ठाकुरापुरमा सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा वाणगंगा नगरपािलकाका नगर प्रमुख मंगल प्रसाद थारुले वाणगंगा र गजेहडा भूपु सैनिक खानेपानी तथा सरसफाई उपभोक्ता समितिले गरेको कार्यको प्रशंसा गर्नुभयो । उहाँले म गर्छु मेरो नगर सफा भन्ने नारासँगै नगरलाई घुम्ती शौचालयको आवश्यकता रहेको र त्यसका लागि आफू कटिबद्ध रहेको धारणा राख्नुभयो । जीवन स्वस्थ राख्न फोहोर व्यावस्थापन अनिवार्य रहेकोले आआफ्नो ठाउँबाट सहकार्य गर्न जरुरी रहेको उहाँले बताउनुभयो । आगामी दिनमा संस्थासँग समन्वय गरेर अगाडी बढेमा उद्देश्य सफल हुने स्पष्ट पार्नुभयो ।

यस्तैगरी वडा नम्बर ४ का वडा अध्यक्ष गणेश बहादुर क्षेत्रीले खानेपानी समितिले विगतका दिनमा पनि उल्लेखनीय कार्य गर्दै आएको बताउँदै खानेपानी संस्थालाई धन्यवाद दिनुभयो । उहाँले खानेपानी बचाउ अभियान संचालन गर्नुपर्ने, कुनैपनि निर्माणका काम गर्दा खानेपानीसँग सहकार्य गरेर गर्नुपर्नेमा जोड दिनुभयो । फोहोर व्यवस्थापनका लागि नगरभित्र उपयुक्त ठाउँ नभएको हुँदा वन उपभोक्ता समितिसँग समन्वय गरी निश्चित व्यावस्थापनका लागि सहयोग गर्न अनुरोध गर्नुभएको थियो ।
सामाजिक विकास केन्द्रका उपाध्यक्ष चेतना अधिकारी, वरिष्ठ समाजसेवी कृष्णप्रसाद भट्टराई, सामुदायिक अस्पताल ४ नम्बर जितपुरका अध्यक्ष रामजी सेन, रोटरी क्लव मिडटाउन कपिलवस्तुका नरेश क्षेत्री लगायतले खानेपानी समितिले निकै उल्लेखनीय कार्य गर्दै आएको बताउनुभएको थियो । समितिले आगामी दिनमा उपभोक्ता जागरण अभियान संचालन गर्नुपर्नेमा सुझाव दिनुभयो । वाणगंगा र गजेहडा भूपु सैनिक खानेपानी तथा सरसफाई उपभोक्ता समितिले उपभोक्ताहरुलाई घरघरमा पुगेर अनुगमन गर्नु उदाहरणीय कार्य गरेकोमा प्रशंसा गर्नुभयो ।
कार्यक्रममा खानेपानीका अध्यक्ष राजेन्द्र विक्रम शाहले वार्षिक समिक्षा प्रस्तुत गर्नुभएको थियो । वाणगंगा नगरपािलकाबाट ५ लाख र भूपु सैनिक खानेपानीबाट १ लाख ४५ हजार लागतमा डस्टविन वितरण गरिएको बताइएको छ । खानेपानी उपभोक्ता समितिले आर्थिक वर्ष २०७५।०७६ मा सांगठनिक संरचना निर्माण, भौतिक पूर्वाधार निर्माण, मानव संसाधन र विकास, लेखा तथा कार्यालय व्यावस्थापन, नीति नियम निर्माण तथा पुनरावलोकन, सूचना तथा संचार व्यवस्था लगायतका विषयमा बजेट खर्च गरिएको बताइएको छ । आर्थिक वर्ष २०७५।०७६मा ४ करोड ३६ लाख ६ हजार बजेट अनुमानित गरिएको थियो भने ५करोड ८४ लाख ७२ हजार खर्च भएको समितिले जनाएको छ । यस्तैगरी आगामी वर्ष २०७६।०७७ का लागि ४ करोड ९२ लाख १५ हजार अनुमानित बजेट उपभोक्ता समितिले सार्वजनिक गरेको छ ।
यस्तैगरी समितिले फोहोर व्यवस्थापनको लागि वाणगंगा नगरपालिका भित्रका १० वटा इकाइ समितिलाई १ सय ५० वटा डस्टविन वितरण गरेको छ । उक्त डस्टविन मेन रोडका विभिन्न चोकमा साथै कपिलवस्तु सामुदायिक अस्पतालका लागि हस्तान्तरण गरिएको छ ।
समितिका अध्यक्ष राजेन्द्र विक्रम शाहको अध्यक्षता, समितिका उपाध्यक्ष झलकमल्ल ठकुरीको स्वागत रहेको कार्यक्रममा वाणगंगा तथा गजेहडा भूपू सैनिकका पदाधिकारीहरु, लेखा समितिका पदाधिकारीहरु, समितिका सल्लाहकार, संचारकर्मी लगायतको सहभागिता रहेको कार्यक्रम कृष्णबहादुर शाहीको संचालनमा सम्पन्न भएको थियो ।