हरि घिमिरे
कपिलवस्तु जिल्लाको बिजयनगर गाँउपालिका वडा नम्बर ५ जुगुनिया देखी वडा नम्बर १ बिरनगर सम्मको सडक स्तरोन्नतीमा अनियमितताको आशंंका गरिएको छ ।
गत अषाढमा निर्माण व्यवसायीलाई सडक स्तरोन्नतीको कार्य सम्पन्नता भएको मूल्यांकन गरि रकम भुक्तानी गरिए पनि श्रावणको तेस्रो सातामा सडकमा मिस्कटका ठाँउमा बालुवा हाल्न थालिए पछि स्थानियले सो आशंका जनाएका हुन ।
गाँउपालिकाले गत आवमा जगुनिया बिरनगर सडकलाई ५० लाख, त्रिपाल नगर बद्ददौर सडकका लागी ५० लाख र लोहरौला सुरईपुल सडकको स्तरोन्नतीका लागी ३० लाख बिनियोजन गरेको थियो । गाँउपरिषदले बिनीयोजन गरेको तिनवटा सडकको स्तरोन्नतीको कार्यका लागी योजना एकिकृत १ करोड ३० लाखको ठेक्का आव्हान गरिएको थियो । ठेक्का सकारेको अमर निर्माण सेवाले भ्याट सहित ८० लाख २४ हजार २ सय २४ रुपैयामा सम्झौता गरेको थियो । २०७५ चैत्र २६ मा भएको योजनाको सम्झौतामा २०७६ जेष्ठ मसान्त सम्मको समय सिमा तोकिए पनि समयमै कार्य सम्पन्न हुन नसकेको भन्दै अषाढ मसान्त सम्म योजनाको म्याद थपिएको थियो ।
जुगुनिया देखी बिरनगर सम्मको सडक स्तरोन्नतीको कार्यमा चालु आवको योजना शुरु नै नहुदै श्रावणमा काम अघि बढनु र मिस्कटका ठाँउमा बालुवा हाल्न थालिए पनि स्थानिय शसंकित भएका थिए । “एकातिर अषाढमै काम सम्पन्न भयो भनेर भुक्तानी दिएको जानकारी पाएका थियौ । अर्को तिर साउनको तेस्रो सातामा मात्रै मिस्कटको ठाँउमा बालुवा हाल्न थाले पछि हामी बिरोधमा उत्रिए पछि काम रोकिएको हो ।” वडा नम्बर ५ का पुर्णचन्द्र न्यौपानेले भने । सडक स्तरोन्नती भनेर बजेट बिनियोजन गरिएको भए पनि निर्माणका प्रक्रिया बारे नागरिकलाई कुनै पनि किसिमले सुचना प्रवाह नगरिएको भन्दै उनले असन्तुष्टी पोखे । “योजना बारे कहि कतै कुनै सुचना बोर्ड समेत राखिएको छैन । यसले पनि नियोजित रुपमै अनियमितता गर्न खोजेको प्रष्ट हुन्छ ।” न्यौपानेले आरोप लगाए । उनी जस्तै बिजयनगर ५ का अर्का स्थानिय गोवर्धन यादवले निर्माण कार्य बारे आम नागरिक र उपभोक्तालाई जानकारी नदिई योजना सम्पन्न भएको भन्दै रकम भुक्तानी दिने कार्य अनियमितता भएको बताए ।
“निर्माण व्यवसायीलाई योजना पुरा नहुदै भुक्तानी दिनु अनियमित हो । तोकिएको गुणस्तर बाहेकको सामाग्री प्रयोग गर्नु खुल्ला रुपमै अनियमितता गर्नु हो ।” यादवले भने । कतिपय निर्माण भएका ह्युम पाईप कल्भर्टमा समेत चर्किए पछि बाहिरबाट टालटुल पारिएको उनले जनाए । तोकिएको समय सिमामा कार्य सम्पन्न भए पछि योजनाको मूल्याङ्कन गरि रकम भुक्तानीका लागी सिफारिस गरिएको गाँउपालिकाका ईन्जिनियर प्रदिप कुमार चौधरीले बताए । निर्माण व्यवसायीले अषाढ मसान्तमै सबै काम सम्पन्न नगर्दै भुक्तानीका लागी योजनाको मुल्याङ्कन गरेको उनले स्विकारे ।
अषाढ सम्म कार्य सम्पन्नताको योजनको मुल्याङ्कन पछि ६२ लाख रुपैयाको भुक्तानीको सिफारिस गरेको ईन्जिनीयर चौधरीले बताए । जुगुनिया देखी बिरनगर सडकको अधिकांस संरचनाको कार्य भएको स्पष्ट पार्दै ६ हयुमपाईप कल्भर्ट निर्माण, ह्युम पाईपको अप स्टिम र डाउन स्टिममा मिस्कट हाल्ने र नौरंगी गाँउका बिभिन्न स्थानमा माटो पटान कार्य भएको अगुगमनका क्रममा भेटिएको उनले बताए । ठेक्का सकारेको निर्माण व्यवसायी कम्पनी अमर निर्माण सेवाका स्थानिय प्रतिनिधी रामशरण यादवले साउन मसान्तमा सडकमा ग्राभेल हाल्ने कार्य पुरा गरि रोलिंग गरि कार्य सम्पन्न गरेको बताए । अषाढमा कार्य सम्पन्नताको भुक्तानी लिईए पनि साउन मसान्तमा काम सकिएको उनले बताए । तिन वटा योजनालाई गाभेर ठेक्का आव्हान गर्ने कार्यले आफैमा आशंका जन्मिएको स्थानिय बताउछन ।
त्यस्तै गरि जुगुनिया देखी बिरनगर सडकको बिनियोजित ५० लाख बजेट मध्ध निर्माण व्यवसायी कम्पनीले ठेक्का सकार्दा ३० लाख ५० हजार बढिमा ठेक्का सकारेको र अषाढमा भएको भुक्तानीको अवस्था हेर्दा सो योजनामा २३ लाख रुपैयाका हाराहारीमा भुक्तानी भएको देखिन आएको छ । अषाढ मसान्त सम्म ७ मध्य ६ वटा कल्भर्ट बन्ने बाहेक माटो पटान र मिस्कट हाल्ने कार्य हुदै नभएको स्थानियको आरोप छ । अषाढ सम्म पुरा योजनामा बढिमा १३ लाख हाराहारी खर्च हुने अवस्था रहे पनि १० लाख बढि रकम मुल्याङ्कन गरि भुक्तानी दिईएको स्थानिय बताउछन । अषाढमा काम सम्पन्न नहुदै योजनाको मुल्याङ्कन गरेर रकम दिनुले सोझासोझ अनियमितता भएको प्रष्टिएको एक स्थानिय युवा अगुवाले बताए ।
अषाढको चटारोको कारण योजना पुर्ण रुपमा सम्पन्न नहुदै भुक्तानी दिईएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रविन्द्र प्रसाद चौधरीले स्विकार गरे । “गाँउपालिकाका अध्यक्ष र उपाध्यक्षले अनुगमन गरे पछि रकम भुक्तानी दिएका हौ । पछि काम पुर्ण रुपमा सम्पन्न नभएको गुनासो आए पछि सुधार्न लगायौं । ” प्रमुख प्रशासकिय अधिकृत चौधरीले भने ।
फोटो क्याप्सन १ ः कपिलवस्तु जिल्लाको बिजयनगर गाँउपालिका ५ मा सडकस्तरोन्नतीका लागी साउन तेस्रो साता सडकमा मिस्कटको ठाँउमा खसालिएको बालुवा देखाउदै स्थानिय ।