गृहपृष्ठ खबर संविधान दिवस: ३ दिनसम्म घर – घरमा दीपावली गर्न अपिल

संविधान दिवस: ३ दिनसम्म घर – घरमा दीपावली गर्न अपिल

प्रकाशित मिति:

काठमाडौं । मुलुकमा संघीय गणतान्त्रिक संविधान जारीमा भएको आउँदो असोज ३ गते ४ वर्ष पूरा हुँदैछ । स्थानीय तह, प्रदेश र संघीय संसदको निर्वाचन पश्चात् संविधान कार्यान्वयनको चरणमा छ । निर्वाचनयता मुलुकमा २ दशकपछि बहुमतको सरकार बन्न सफल भएको छ । भारी बहुमतको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्व सरकार छ ।

सरकारले समृद्ध नेपाल सुखी नेपालीको संकल्प गरेको छ । मुलुकलाई समृद्ध बनाउँदै समाजवादसम्म पुग्ने लक्ष्य लिएको छ । १८ प्रतिशत बासिन्दा अझै गरिबीको रेखामुनि छन् । अभावमै गुज्रिरहेको मुलुकलाई समाजवादसम्ममा पुर्याउन त्यति सजिलो छैन । त्यहाँसम्म पुग्न विभन्न चुनौति र व्यवधान छन् । तर नेपालको लागि समाजवाद अलौकिक रहेन, समाजवाद संविधानले नै परिकल्पना गरेको छ ।

सरकारले गठन लगत्तै संविधानको पूर्ण कार्यान्वयनमा जोड दिएको छ । राज्यका सबै निकायलाई संघीय संरचना अनुसारको बनाउने कार्य भइरहेको छ । त्यसको लागि आवश्यक कानुन बनिसकेको छ । राज्य सयन्त्रलाई समयानुकुल बनाउन कतिपय कानुन संशोधन भइरहेका छन् । केही संशोधन प्रकृयामा छन् ।

६ दशकको प्रयास, संघर्ष र बलिदानपछि मुलुक संविधान संविधानसभाबाट जारी गर्न सफल भयो । त्यो पनि दुई तिहाई भन्दा बढी सभासद्हरुको समर्थनमा । संविधान ९२ प्रतिशत सभासद्को समर्थनमा जारी गरिएको थियो । नेपाल विश्वमै संविधानसभाको सबै भन्दा बढी प्रतिशत सदस्यको समर्थनमा सविधान जारी गर्ने मुलुकमा दरिन पुग्यो । संविधान जारी हुँदा देशबासीले खुशियाली मनाए । मुलुकभर ३ दिन दीप प्रज्वलन गरियो । विश्वका विभिन्न राष्ट्रले समर्थन गर्दै नेपालाई बधाई दिए । नेपालकाे संविधान विश्वमै उत्कृष्ट मानिएको छ ।

संविधानले सबै जातजातिको अधिकार प्रत्याभूत गरेको छ । संविधानले सबैलाई समेटे पनि केही समुदाय यसप्रति अझै असन्तुष्ट देखिएका छन् । खास गरी मधेस केन्द्रित केही राजनीतिक दल यसप्रति असहमति जनाएका छन् । संविधान संशोधन माग गर्दै आएका छन् । संविधान संशोधनकै बिषयलाई लिएर २०७२ सालमा मुलुकले ५ महिना अघोषित नाकााबन्दी व्यहोर्नु पर्यो । संविधान अपरिवर्तनीय दस्तावेज होइन र सरकारले प्रस्तावनाका केही पक्ष बाहेक अन्य बुँदा समयअनुसार परिवर्तन गर्न सकिने बताउँदै आएको छ । सरकारले आमसमुदायमा संविधानबारे बुझाउने र असन्तुष्ट पक्षलाई मनाउने प्रयास गरिहेको छ । त्यसको लागि यस पटक संविधान दिवस भव्य रुपमा मनाउने निर्णय गरेको छ । त्यसको लागि मूल समारोह समिति गठन भएको छ । संविधान दिवस मनाउनको लागि प्रदेश र स्थानीय तहमा पनि समिति गठन गर्ने निर्णय भएको छ ।

समितिले आम नागरिकलाई सांस्कृतिक तथा राष्ट्रिय पेशाकमा भण्डासहित र्यालीमा सहभागी हुन आव्हान गरेको छ । ३ दिनसम्म घर – घरमा दीपावली गर्न अपिल गरेको छ । सरकारी तथा निजी क्षेत्रका कर्मचारीलाई संविधान दिवस कार्यक्रममा अनिवार्य रुपमा उपस्थित हुन आव्हान गरेको छ । कर्मचारीलाई औपचारिक पोशाक र झण्डासहित सहभागी हुन आग्रह गरिएको छ । गृहमन्त्रालयले राष्ट्रिय झण्डा अंकित टिसर्टको ४ नमूना वेभसाइडमा राखेको छ । कार्यक्रममा सहभागीले बाँया छातीमाथि झण्डा पर्ने गरी बनाइएको टिसर्ट लगाउनुपर्ने छ ।

संविधान दिवसको दिन फहराउने झण्डाको साइज पनि तोकिएको छ । सरकारी, निजी तथा सार्वजनिक सवारी साधनमा समेत झण्डा फहराउन पत्रचार गरिएको छ । असोज २, ३ र ४ गते साँझ सबैको घर – घरमा दीपावली गर्न आव्हान गरिएको छ । मठमन्दिर, चर्च, मस्जिद, बौद्ध बिहारमा समेत पूजापाठ गर्न आव्हान गरिएको छ । यसबाट आम समुदायमा संविधानप्रति माया प्रगाढ बनाउन मद्धत पुग्नेछ ।

सम्बन्धित् समाचार