गृहपृष्ठ खबर आज पनि दिनभर पानी पर्ने ,सतर्कता अपनाउन मौसमविदको सुझाव

आज पनि दिनभर पानी पर्ने ,सतर्कता अपनाउन मौसमविदको सुझाव

प्रकाशित मिति:

१ असोज, काठमाडौं । बुधबार पनि दिनभर पानी पर्ने मौसमविदले बताएका छन् । काठमाडौं उपत्यकामा बुधबार पनि दिनभर बादल लाग्ने र पानी पर्ने पूर्वानुमान छ ।

मौसमविद मञ्जु बासीले अनलाइनखबरसँग भनिन्, ‘काठमाडौं भ्यालीमा आज पनि घाम लाग्ने सम्भावना छैन । दिनभरी नै पानी पर्छ । कुनै ठाउँमा केही क्षण रोकिए पनि एकछिनपछि फेरि पानी पर्ने छ ।’

बुधबार देशका मध्य र पश्चिमका धेरै स्थानहरुमा तथा पूर्वका केही स्थानमा मेघ गर्जन र चट्टयांगसहित वर्षा हुने छ । कतैकतै भारी वर्षाको पनि सम्भावना रहेकाले पहिरो जान सक्ने, नदीहरुमा पानीको वहाब बढ्न सक्ने तथा सडक र हवाई यातायातमा सामान्य अवरोध आउन सक्ने भएकाले सतर्कता अपनाउन मौसमविदे सुझाव दिएका छन् ।

बिहीबारबाट मौसममा सुधार आउने

बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको कारण देशभर मौसममा बदली भइरहेको छ । साथै, भारतको मध्य प्रदेशको उत्तर पश्चिमी भागमा र उत्तर प्रदेशको दक्षिणी भागमा एउटा निम्न चापीय प्रणाली रहेकाले पनि त्यसको प्रभावले पानी परिरहेको छ । हाल देशका अधिकांस भागहरुमा सामान्यदेखि पूर्ण बदली भइ केही स्थानहरुमा मेघ गर्जनसहित हल्कादेखि मध्य वर्षा भइरहेको छ ।

मौसमविद मञ्जु बासीका अनुसार बिहीबारदेखि भने मौसममा क्रमिक सुधार आउने छ । उनले भनिन्, ‘हिजो र आजजस्तो पानी भोलि पर्दैन । किनभने हामी मनसुन अन्त्य अन्त्यतिर पनि छौं ।’

सामान्यतया नेपालमा जुन १० तारिखदेखि मनसुन सुरु भएर सेप्टेम्बर २३ तारिखमा सकिन्छ । यस वर्ष नेपालमा १० दिन ढिलो मनसुन भित्रिएको थियो । विगतलाई हेर्दा मनसुनको अवधि लम्बिएको छ । गत वर्ष अक्टुबर ५ बाट नेपालमा मनसुन अवधि सकिएको थियो भने सन् २०१३ मा त अक्टुबर १९ मा मात्र मनसुन अन्त्य भएको थियो ।


सम्बन्धित् समाचार