गृहपृष्ठ खबर रुपन्देहीको कञ्चन गाउँपालिकामा पनि ५ जनामा डेंगीको संक्रमण ,

रुपन्देहीको कञ्चन गाउँपालिकामा पनि ५ जनामा डेंगीको संक्रमण ,

प्रकाशित मिति:

रुपन्देहीको कञ्चन गाउँपालिकामा पनि ५ जनामा डेंगीको संक्रमण देखिएको छ । कञ्चन ५ चौपारीमा रहेको श्रृङ्गेश्वर हेल्थ क्लिनिकमा उपचार गर्न गएका बिरामीमा डेंगीको संक्रमण देखिएको श्रृङ्गेश्वरका प्रोप्राइटर पि एन ज्ञवालीले बताउनु भएको छ । डेंगी संक्रमीत ५ जना मध्ये ३ जना पुरुष र २ जना महिला रहेको छन् । जसमध्ये ३ जनालाई थप उपचारका लागी बुटवल पठाइएको छ भने २ जनालाई श्रृङ्गेश्वर हेल्थ क्लिनिकमै फलोअपमा राखिएको ज्ञवालीले जानकारी दिनुभयो ।

पछिल्लो समयमा लुम्बिनी प्रादेशिक अस्पताल, भीम अस्पताल, युनिभर्सल मेडिकल कलेज र क्रिमसन अस्पतालमा उपचारका लागि आएका बिरामीमा डेंगी भेटीने क्रम बढ्दो रहेको छ ।

केही दिनयता भाइरल ज्वरोका बिरामी बढसँगै डेंगुका बिरामी पनि देखिएका हुन् । रुपन्देहीमा ६ वर्षदेखि डेंगुका बिरामी भेटिंदै आएका छन् । गतवर्ष ३८ जना मात्रै बिरामी भेटिएका थिए भने यो वर्ष १५० जना भन्दा बढीमा देखीइसकेको छ । अहिलेसम्म चारजनाको मृत्यु पनि भैसकेको छ ।

डेंगु परीक्षण गर्ने किटको अभाव र केन्द्रबाट कम मात्रामा किट आएकाले बिरामीको चाप बढे उपचारमा कठिनाई हुने लुम्बिनी प्रादेशिक अस्पताल बुटबलका मेडिकल सुपरिटेन्डन डा. कृष्ण खनालले यसअघि बताई सक्नु भएको छ ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवल, भीम अस्पताल, युनिभर्सल मेडिकल कलेज भैरहवा र क्रिमसन अस्पताल मणिग्राममा डेंगुको परीक्षण हुन्छ ।

ज्वरो आइहालेमा कुनै औषधि नखाइ अस्पतालमा परीक्षणका लागि आउन चिकित्सकले अपील गरेका छन् । यस्तै सावधानी अपनाए डेंगुको संक्रमण नहुने भन्दै घर वरिपरि सफा राख्न आग्रह समेत गरेका छन् ।

डेंगु एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले टोकेपछि हुने एक प्रकारको ज्वरो हो । लामखुट्टेको लार्भा हुर्कने स्थान नष्ट गरे डेंगी रोगबाट बच्न सकिन्छ । जमेको सङ्लो पानीमा डेंगु फैलाउने लामखुट्टेले प्रजनन् प्रक्रिया गर्ने भएकाले त्यस्का लागी वर्षाको खाल्डाखुल्र्डीे, पानी जम्ने टीनका डब्बा, रंगका खाली डब्बा, थोत्रो टायर, अलकत्रा वा मट्टतिेलका खाली ड्रमहरूमा पानी जम्न दिनु हुँदैन । उक्त लामखुट्टेले विशेष गरी दिउँसो टोक्ने भएकाले शरीर ढाकिने कपडा लगाउनु पर्दछ ।

उता डेंगु संक्रमणका बारेमा जानकारी गराउँदै प्रदेश नं ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले डेंगु संक्रमण नियन्त्रण बाहिर नगएको यसअघी नै बताइ सक्नु भएको छ । प्रदेशका १२ वटै जिल्लामा डेंगु संक्रमण नियन्त्रण र रोकथामका लागि सबै स्थानीय तह र संघ–संस्थालाई जनचेतनामूलक कार्यक्रम गर्न आह्वान गरिएको र अस्पतालहरूमा बेड र रगतको पर्याप्त व्यवस्था मिलाउन भनिएको बताउनुभयो । सरकारी अस्पतालमा डेंगुको उपचार निःशुल्क हुने व्यवस्था मिलाइएको पनि मन्त्री बरालले जानकारी गराउनु भएको छ ।

प्रदेश सरकारले महामारीजन्य रोगकोे उपचारका लागि ५० लाख रुपैयाँ बजेट छुट्टाएको र आन्तरिक मामिला तथा कानून मन्त्रालयमा विपद् व्यवस्थापन कोषमा १० करोड रहेकाले उक्त रकम पनि खर्च गर्न सकिने सामाजिक विकास मन्त्री बरालले बताउनुभएको छ ।

पछिल्लो समय प्रदेश नं ५ का १२ जिल्लामध्ये रूपन्देहीमा सबैभन्दा धेरै जनामा डेंगुको संक्रमण भएको छ भने मुलुकका झन्डै ४२ जिल्लामा डेंगु संक्रमण फैलिइसकेको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ ।

सम्बन्धित् समाचार