खोटाङ, असोज ः दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा यलम्बरको पूर्ण कदको प्रतिमा (शालिक)सहितको उद्यान (पार्क) निर्माणलाई तीव्रता दिइएको छ । तीस रोपनीभन्दा बढी सरकारी जग्गामा १०० फिट अग्लो यलम्बरको शालिक राख्नेगरि व्यवस्थित तथा आधुनिक पार्क निर्माण शुरु गरिएको हो ।
करीब रु १४ करोड लागतमा पूरा हुने शालिक सहितको पार्कका लागि प्रदेश सरकारको ७० र नगरपालिकाको ३० प्रतिशत लगानी रहेको छ । माझ किरात भनेर चिनिने खोटाङको बुइपामा निर्माणाधीन शालिकसहितको पार्कका लागि नगरपालिकाले गत वर्ष रु ७२ लाख बजेट विनियोजन गरेको थियो ।
आन्तरिक तथा बाह्य पर्यटकबाट प्रवेश शुल्क समेत लिइनेगरी निर्माण शुरु गरिएको यलम्बर पार्कभित्र घुमफिर गर्ने ठाउँ, विश्राम गर्ने फलामे ट्रष्टसहितको कुर्सी, निःशुल्क वाइफाई सेवा, कफी तथा फास्टफुड सेवा उपलब्ध हुने वडाध्यक्ष दिनेश राईले बताउनुभयो । “यलम्बर पार्कमा अन्य ठाउँमा निर्माण गरिएका आधुनिक पार्कमा हुने सबै सुविधा हुनेछ”, उहाँले भन्नुभयो, “चारैतिर घेराबारले घेरिएको पार्कको बीचमा यलम्बरको विशाल शालिक राख्ने तयारी गरेका छौँ । त्यो धलौटको हुनेछ ।”
आगामी तीन वर्षभित्र सम्पन्न गर्नेगरी निर्माण शुरु गरिएको यलम्बरपार्कमा अहिले प्रवेशद्धार, सुरक्षाकर्मी बस्ने ठाउँ, टिकट काट्ने ठाउँ, रेष्टुरेन्ट गृह र पसल सञ्चालन गृहको काम सम्पन्न भएको निर्माण उपभोक्ता समितिका अध्यक्ष मिलन राईले बताउनुभयो । किराती ऐतिहासिकस्थल बुइपामा बन्ने यलम्बरको शालिक विश्वमा निर्माण भएकामध्ये अहिलेसम्मकै सबैभन्दा अग्लो र ठूलो हुने दाबी गरिएको छ ।
आफ्नो क्षेत्रमा किराती समुदायका पहिलो राजा यलम्बरको शालिक सहितको पार्क निर्माण हुने भएपछि स्थानीयबासी समेत हर्षित भएका छन् । चोभारको मञ्जुश्री पार्क शैलीमा निर्माण गरिने यलम्बर पार्कको आम्दानी ६० प्रतिशत नगरपालिका र ४० प्रतिशत प्रदेश नम्बर–१ मा जम्मा हुने जनाइएको छ ।
निर्माणाधीन यलम्बर पार्कलाई नगरपालिकाले गौरवको आयोजना अन्तरगत राखेको नगरप्रमुख दिपनारायण रिजालले बताउनुभयो । “यलम्बर पार्क निर्माण गर्ने योजनालाई प्रदेश सरकार र नगरपालिकाले प्रमुख प्राथमिकतामा राखेको छ”, उहाँले भन्नुभयो, “बुइपामा निर्माणाधीन यलम्बर पार्कले नगरपालिकाको मात्र नभई प्रदेश नम्बर–१ कै पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने विश्वास लिएका छौँ ।”
सगरमाथा राजमार्गको दिक्तेल–गाईघाट सडक खण्डमा पर्ने बुइपामा निर्माणाधीन यलम्बर पार्क पर्यटकका लागि आवत÷जावत गर्न समेत सहज हुने जनाइएको छ । हिन्दु, बौद्ध र किरात धर्मालम्बीको सङ्गमस्थल हलेसी नजिक रहेको बुइपामा निर्माण शुरु गरिएको यलम्बर पार्कमा हलेसी आउने पर्यटकलाई समेत घुमाउन ल्याउन सकिने निर्माण उपभोक्ता समितिले जनाएको छ ।
यलम्बरपार्कदेखि किराती सभ्यताको उद्गमथलो मानिने हलेसी तुवाचुङ नगरपालिकास्थित तुवाचुङ जायजुमसम्म पदमार्ग निर्माण गर्ने योजना बनाइएको छ । नेपाल सरकारले निर्धारण गरेको १०० वटा पदमार्गमा पर्ने ‘मुन्धुम ट्रेल’ पदमार्ग पनि सोही क्षेत्रमा पर्ने भएकाले निर्माणाधीन यलम्बर पार्कलाई महत्वका साथ हेरिएको छ ।
विश्वकै अग्लो यलम्बरको शालिक निर्माण तीव्रगतिमा
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैक्यालिफोर्निया डढेलोमा कम्तीमा १६ जनाको मृत्यु
३ घण्टा अघि
च्याम्पियन्स ट्रफी : न्युजिल्याण्डको टोली घोषणा
८ घण्टा अघि
लुम्बिनी विश्वका ५२ गन्तव्यमध्ये नवौँ स्थानमा
८ घण्टा अघि