रुपन्देही कांग्रेसका एक नेता अर्कैकी श्रीमतीसँगै बसेर मादक पदार्थ पिउँदै गरेकाे अवस्थामा पक्राउ परेका छन् । बुटवल उपमहानगरपालिका–१२, बेलबासकी एक स्थानीय महिलासँग मादक पदार्थ सेवन गरिरहेको अवस्थामा कांग्रेस नेता पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा नेपाली कांग्रेस रुपन्देही ५ का क्षेत्रीय कोषाध्यक्ष सैनामैना नगरपालिका–१० सालझण्डी निवासी हरि पोखरेल छन् ।
पोखरेल गत प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट प्रदेशसभा सदस्यको उम्मेदवारमा दाबेदारी प्रस्तुत गरेका थिए । यद्यपि उनलाई कांग्रेसले निर्वाचनमा टिकट भने दिएको थिएन ।
पक्राउ परेकी महिला नेकपाकी कार्यकर्ता रहेको र केही महिनाअघि उनलाई पार्टीले कारबाही गरेको बुझिएको छ । बुटवल उपमहानगरपालिका–१२, बेलबासकी ती महिलासँग मादक पदार्थ सेवन गर्दै गरेको अवस्थामा ती महिलाका श्रीमानले रंगेहात फेला पारी प्रहरीलाई खबर गरेका थिए ।
‘मैले प्रहरीलाई खबर गरेको हुँ, प्रहरी आएर दुवैलाई लगेको छ,’ ती महिलाका श्रीमानले भने ।
पोखरेल र ती महिला कोठामा मादक पदार्थ सेवन गर्दै अश्लील चलचित्र हेर्दै गरेको अवस्थामा प्रहरी लिएर महिलाका श्रीमान् कोठामा पुगेका थिए । प्रहरीले कोठाबाटै नियन्त्रणमा लिएका उनीहरूलाई महिलाका श्रीमानले दिएको उजुरीपछि इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ ।