गृहपृष्ठ Featured ‘नमरी स्वर्ग देखिन्न भन्नेहरू इलाम पुगेका रहेनछन्’

‘नमरी स्वर्ग देखिन्न भन्नेहरू इलाम पुगेका रहेनछन्’

प्रकाशित मिति:

अब यहाँदेखि चाहिँ पिच बाटो सकियो,’ कवि बिमल वैद्यले मोटरसाइकल घ्याच्च रोक्दै भने।

म मोटरसाइकलबाट ओर्लिएँ र खुट्टा तन्क्याउन थालेँ। हामी इलामको प्रख्यात माइपोखरी जान लागेको थियौं। आधाउधि बाटो काटिसकिएको थियो। मौसम अनौठो थियो। छिनमा पानी पर्ने–छिनमा रोकिने।

मैले चारैतिर आँखा डुलाएँ। दायाँ छेउमा एउटा सुन्दर कटेज थियो, हरियो रंगको छानो हालेको। कवि बिमलका लागि त पानीपँधेरो भैसकेको ठाउँ। मानिसको स्वभावै हो, आँखा अभ्यस्त भइसकेपछि जतिसुकै सुन्दर कुराहरु पनि साधारण नै लाग्छन्। मेरा लागि भने इलामका हरेक कुना काप्चा र चारैतिर देखिने प्राकृतिक छटा नयाँ थिए। त्यसैले आँखाभरी अघाउन्जेल म तिनीहरुलाई समेटिरहेको थिएँ। मोबाइल फोनको क्यामरा पनि जिल्ल परिरहेको हुनुपर्छ–किन अचानक यसले मलाई ओभरटाइम काम गराइरहेका होला भनेर।

हुन त म धेरै वर्ष अघि ‘मंगोलियन हार्ट’को एउटा म्यूजिक भिडिओ बनाउने क्रममा दार्जिलिङ जाँदा कन्याम, फिक्कल र पशुपतिनगर पुगेको थिएँ। ‘तिमीलाई देखेर हिमाल हाँसेको।’ तर त्यति बेला इलाम बजार जाने अवसर जुरेन। त्यसको केही समयपछि ‘नेपथ्य’को सिलोंगमा भएको कन्सर्ट र मैले सञ्चालन गर्ने टेलिभिजन कार्यक्रम ‘म्यूजिक म्याजिक’को छायांकनपछि फर्किँदा साथीहरुसँग इलाम पनि घुम्ने योजना बनेको थियो। त्यस पटक पनि चेरापुञ्जीमा खुट्टा मर्काएको हुनाले म भद्रपुरबाट उडेर काठमाडौं आउनु परेको थियो।

साथीहरूले पछि इलामका फोटा देखाउँदा म चुक्चुकाएको थिएँ। इलाम टेक्ने अवसर नै जुर्दैन थियो। यस पटक बिमल वैद्यले त्यो जुराइदिए, ‘इलाम साहित्य महोत्सव’मा सहभागी हुने अवसरका रुपमा।

कोहीकोही मान्छे एकै भेटमा आत्मीय हुन्छन्। केही महिनाअघि सिलिगुडीमा सम्पन्न ‘दार्जिलिङ नेपाल साहित्य महोत्सव’मा भेटिएर परिचय भएका कवि बिमल त्यसको उदाहरण हुन्। त्यहाँ हाम्रो खासै उठबस हुन नपाए पनि एउटा अनौठो र अदृश्य धागोले हामीलाई बाँधेको रहेछ। बीचमा एक पटक उनी काम विशेषले काठमाडौं आएका बेला आगो लिन जसरी भेटेर कफी खाएका थियौं। ह्वाट्सएप्मा बेलाबेला छास्सछुस्स संवाद हुन्थ्यो।

त्यही क्रममा उनले इलाममा हुन लागेको साहित्य महोत्सवको निम्तो दिएका थिए। उनको निम्तो पाउनासाथ मन इलाम पुगिहाल्यो। इलामको सुन्दरताबारे सुनेर लोभिइरहेको मन फुरुंग भएर बादलको भुवा बनेर उड्नु अनौठो कुरा भएन। मनभन्दा छिटो यात्रा गर्ने कुनै कुरा कहाँ छ र? मानिसहरू प्रकाशको कुरा गर्छन्। मन त एकै निमेषमा अरबौं प्रकाशवर्षको गतिमा यात्रा गर्छ। मानिसहरू ‘टाइम ट्राभल’लाई मिथक भन्छन्, मन भने आँखा झिमिक्क नगर्दै इतिहासको पहिलो घटनाबाट भविष्यको अन्तिम पलसम्म पुग्न भ्याउँछ।

अहिले चाहिँ पहिले नै यता पुगेको मेरो मनलाई पच्छ्याउँदै मेरो तन पनि इलाम आइपुगेको तेश्रो दिन भएको छ।

असोज २ गते, काठमाडौं–भद्रपुर–करफोक

इलाम साहित्य महोत्सवमा सहभागी हुन काठमाडौंबाट भद्रपुर ओर्लनेहरू सबै एउटै उडानमा थिएनौं। त्यसैले उता सँगै भेटिएर एउटै गाडीमा इलाम चढ्ने योजना थियो। म पहिलो उडानमा परेको थिएँ। दोश्रोमा कवि भूपाल राई र श्रवण मुकारुङ थिए अनि तेश्रोमा कवि मोमिला। म केही घण्टा अघि भएँ। मलाई विमानस्थलमै अरुलाई कुरौं कि चारआलीतिर आएर कुनै रेस्तोराँमा अल्मलिऊँ भन्ने दोधार भइरहेको थियो।

त्यही बेला थाहा भयो, अग्रज श्रष्टा कृष्ण धरावासी भद्रपुरमा छन्। उनले प्रेमपूर्वक आफ्नो घरमा बोलाए। मैले पनि उनको आँगन टेक्ने अवसरलाई उम्किन दिइनँ। सञ्जीव उप्रेति पनि त्यहीँ रहेछन्, मेरो त हंस नै प्रसन्न भइहाल्यो। भाउजू मञ्जु बिमलीले बडो आत्मीयतापूर्वक दहीचिउरा खुवाउनु भयो। उहाँहरू पनि एक दिनअघि मात्र झापा घर पुग्नुभएको रहेछ।

अप्ठ्यारो मान्दै उहाँले भन्नुभयो, ‘हामी पनि यहाँ नभएकोले अरु केही बन्दोवस्त छैन। राम्ररी खुवाउन सकेनौं, अन्यथा नलिनु होला।’

मैले त्यतिखेर अग्निपथ भन्ने हिन्दी सिनेमामा अमिताभ बच्चनले बोलेको एउटा संवाद सम्झिएँ, ‘आदमीका भूख रोटी से नहीं भरता। भूख मरता है रोटी में लिपटी हुई प्यार से। मालूम?’

हुन त यो बबूरोले आजसम्म चौरासी व्यञ्जनबारे सुनेको मात्र छ, खाएको छैन। तर पनि तपाईंले प्रेमपूर्वक खुवाएको दहीचिउरा मेरा लागि चौरासी व्यञ्जनभन्दा कम थिएन मञ्जु भाउजू।

धेरै अघिदेखि उनको घरमा पाइला टेक्ने योजना पनि छेपाराको उखान नै भइरहेको थियो। त्यहाँ पुगेर आएका अरू मित्रको बयान सुन्दा गतिलै कुरा गुमाइएको छ भन्ने लाग्थ्यो। त्यसैले म यस पटक त्यो मौका नछोड्न लालायित थिएँ। करफोक स्कुलको गेटैनिर मूल सडकमा म सहयात्रीहरूसँग बिदावारी भएँ। अँध्यारो हुन थालिसकेको थियो।

करफोक स्कुलको आफ्नै इतिहास छ। बिक्रम सम्वत् २००९ मा नै महानन्द सापकोटाको संयोजनमा महाकवि लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, लेखनाथ पौड्याल, पारसमणि प्रधान, धरणीधर कोइराला, शंकर लामिछाने तथा पुण्यप्रभा ढुंगाना लगायत वरिष्ठ साधकहरूको उपस्थितिमा त्यहाँ पाँच दिने वृहत साहित्य महोत्सव भएको थियो। यस अर्थमा इलामलाई साहित्य महोत्सवको जन्मथलो भनिदिए पनि हुन्छ।

मूल बाटोबाट बाँकटे हानेर केहीबेर अघि बढेपछि ऐतिहासिक करफोक स्कुलको भवन देखियो। त्यही भवनलाई बायाँ पारेर फेरि केही बेर ओरालो लागेपछि तलतिर झर्ने एउटा गोरेटो बाटोको मुखमा पुगियो। उकालोको मुखमा पुग्दा पारि कतैबाट केदार दाइ कराएको आवाज आयो। यताबाट म पनि कराएँ। उताबाट केदार दाइ बाटोको निर्देशन दिन थाले। म मनमनै फिस्स हाँसे।

मोबाइल फोनको युगमा हामी दुवै सञ्चारको पुरानो नेपाली गाउँले प्रविधि प्रयोग गरिरहेका थियौं। त्यो अनुभव आफैंमा बडो रमाइलो थियो। म ओरालो झर्न थालेँ। अँध्यारो र पानी परेको चिप्लो हुनाले म सावधानीपूर्वक तल झर्दै थिएँ। उताबाट केदार दाइ कराउँदै दिशानिर्देश दिँदै थिए। तल पुगेर केही बेर समथर हिँडेपछि फेरि उकालो चढ्नुपर्ने रहेछ।

अनि टेबलमा थियो प्रशस्त लसुन फुराइएको, तात्तातो घिउ। दाइले थपे, ‘यो चाहिँ मेरा हजुरबाले खाने खालको घिउ। उहाँ यसरी टन्नै लसुन फुराएरको घिउले सर्दी जान्छ भन्नुहुन्थ्यो।’

मैले सोचेँ, सर्दी त के गर्छ कुन्नि, त्यो घिउले पाहुनालाई चाहिँ नजाऊँ-नजाऊँ पार्दो रहेछ। अँ, घरमै बनाएको ‘जिन्जर एल’को स्वाद त अझै जिब्रोमै छ। त्यसलाई उनीहरू ‘अदुवाह्’ भन्दा रहेछन्। वाह नै थियो त्यसको स्वाद।

असोज ३ र ४, करफोक–इलाम

करफोकबाट बिहानै हामी एउटा सुमोमा खाँदिएर इलामतिर लाग्यौं। त्यो बाटोमा चल्ने सुमो र बोलेरोले दश जना अटाउने गरी सिट बनाएका हुँदा रहेछन्। अगाडि बस्नेबाहेक अरूका लागि घुमाउरो उकालो बाटोमा यात्रा कष्टप्रद हुनेरहेछ। पर्यटकीय दृष्टिले हेर्ने हो भने त्यति सुन्दर थलोमा पुग्ने यात्रालाई पनि अलि आरामदायी बनाउन सके कति गज्जब होला भन्ने लागिरह्यो।

हामी चढेको बोलेरोका चालक बीस-बाइस वर्ष हाराहारीका थिए। आधाजसो समय त उनको ध्यान बाटोमाभन्दा फोनमा हुन्थ्यो। पहिलो पटक रिङ बजेर उनले खल्तीबाट फोन निकालेर हेर्दा मैले उताबाट कल गर्ने कुनै युवतीको फोटो झिलिक्क देखेको थिएँ। नेटवर्कको कारण दुवै जनाको सहज कुराकानी हुन सकिरहेको थिएन। पटकपटक उनीहरू सम्पर्क गर्न खोजिरहे। तर नेटवर्क खलनायक भइरहेको थियो।

त्यसको झोंकमा उनले म्यूजिक प्लेयरको कान बेस्मारी निमोठे। एक त बिग्रेको स्पीकर, त्यसमाथि कर्णकटु टुङटुङ ढिस्वाला संगीत अनि गीतको नाममा कुनै गायकको चित्कार। हाम्रो कानको जाली चिर्रचिर्र गरेर चर्किन थाल्यो। यस्तो लाग्थ्यो, नर्कमा यमराजले तातो तेलको कराहीमा चोपलेको पीडामा कोही रोइरहेको छ।

सहन नसकेर केदार दाइले भने, ‘भाइ, आवाज अलि सानो बनाऊ न।’

इलाममा कवि बिमल वैद्य र आयोजकका तर्फबाट प्रकाश थामसुहाङ्ग लगायतले न्यानो स्वागत गरे। उल्लेख्य सहभागिताका साथ निकै भव्य ढंगले दुई दिनको इलाम साहित्य महोत्सव सम्पन्न भयो। आयोजकहरूले काठमाडौं, झापा, बिराटनगर, हेटौंडा लगायत थुप्रै स्थानबाट आएका पाहुनाहरूको इलाम बसाइ बडो व्यवस्थित बनाएका थिए। त्यसका लागि पनि इलामलाई आभार प्रकट नगरी हुँदैन। मैले मनभरि मिठा सम्झनाहरुको पोकोपन्तुरो कसेँ।

सम्बन्धित् समाचार