काठमाडौं – नेपाली क्रिकेट टोलीले समय समयमा कठिन लाग्ने खेल पनि आफ्नो पक्षमा पारेका उदाहरण छन् । हारको मुखबाट जित निकालेका खेलको पनि लामो सुचि बनिसकेको छ ।
नेपाली टोलीले त्यस्तै कमाल फेरि एकपटक गरेको छ । ओमानमा जारी पाँच देश सम्मिलित टि ट्वान्टी क्रिकेट सिरिजमा नेपालले सोमबार नेदरल्यान्ड्समाथि ४ विकेट जित निकालेको छ । टि ट्वान्टीमा नेदरल्यान्ड्माथि यो पहिलो जित हो । देश भित्र र बाहिर रहेका नेपाली दशै मनाउने क्रममा रहँदा नेपाली क्रिकेट टोलीले अर्को खुसी दिएका छ ।
१ सय ३० रनको लक्ष्य पछ्याएको नेपालले १९.५ ओरमा ६ विकेट गुमाउँदै महत्वपुर्ण जित निकालेको हो । टोलीको जितमा करण केसी नायक बने । विस्फोटिक ब्याटिङ गरेका करणले १४ बलमा तीन छक्का र १ चौकाको मद्दतमा अविजित ३१ रन बनाए ।
कप्तान पारस खड्काले टोलीका लािग सर्वाधिक ३३ रन बनाए भने अघिल्लो दिन अर्धशतक पुरा गरेका विनोद भण्डारीले २६ रन जोडे । नेदरल्यान्ड्सका लागि भान डेर मर्वीले २ विकेट लिए । त्यसअघि नेपालले टस जितेर नेदरल्यान्ड्सलाई ब्याटिङको लागि निम्तो दियो ।
नेदरल्यान्ड्सले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय २९ रन जोडेको थियो । टोलीका लागि प्याट्रिक ओडिडले सर्वाधिक ४३, कोलिन एकेर्मानले २९ र एन्टोनिउस स्कलले २१ रन जोडे । नेपालका लागि सन्दीप लामिछानले ४ विकेटल लिए ।
ब्याटिङमा चम्कनु अघि करणले ४ विकेट लिए भने ललित नारायण राजवंशीले १ विकेट लिए । सिरिजमा नेपालले लगातार दुई खेलमा दुई जित निकालेको छ । आइतबार नेपालले हङकङलाई ४ विकेटले हराएको थियो ।








