अर्घाखाँची / असोज २० / अर्घाखाँची नरपानी जिप दुर्घटनामा निधन हुने व्यक्तिको सनाखत भएको छ । निधन हुनेमा ढाकाबाङ पुरानो घर भई हाल लमही नगरपालिका ५ मिलन चोक निवासी बर्ष ५१ का घनश्याम खनाल र निजकी श्रीमती बर्ष ४६ की श्यामकला खनाल रहेको प्रहरीद्वारा जानाकारी गराइएको छ ।
अन्य एक जनाको भने सनाखत हुन बाँकी नै छ ।
४ जना घाईते उपचारको निम्ति बुटवल रिफर गरिएको छ भने २ जनाको जिल्ला अस्पताल अर्घाखाँचीमा उपचार हुँदै छ ।
सोमबार दिउँसो लंका यातायात प्रालिको जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै ज्यान गएको थियो । दुर्घटनामा ६ जना घाइते भएका छन् । घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको छ । कपिलवस्तुको गोरुसिंगेबाट सन्धिखर्क आउँदै गरेको लु १ ज ४३२९ नम्बरको जीप सन्धिखर्क नगरपालिका वडा नम्बर–६ नरपानी नजिकै दुर्घटनामा परेको थियो । जीपमा नौ जना सवार रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते हुनेहरू जीप चालक कपिलवस्तु बुद्धभूमिका वीरेन्द्र श्रेष्ठ, भुमिकास्थान–१०, धनचौरका उमेश रेग्मी, दाङ लमही–५ की अनिता खनाल र बिन्दु खनाल, भुमिकास्थान–१० की सीमा रेग्मी र उनका १ वर्षीया छोरा आदित्य रेग्मी घाइते रहेका छन् । घाइतेमध्ये चार जनालाई उपचारको लागि चौराह अस्पताल बुटवल पठाईएको छ ।
जीप ओरालो सडकमा अनियन्त्रित भई सडकदेखि साढे तीन सय मिटर तल खसेको प्रहरीले जनाएको छ । घटनस्थलमै पुगेर प्रमुख जिल्ला अधिकारी विजयराज पौडेल, जिल्ला प्रहरी कार्यलयका प्रमुख प्रकाश विष्ट, सशस्त्र प्रहरी बलका प्रहरी नायव उपरीक्षक माधब रेग्मीसहितको टोलीले उद्धार गरेको हो ।