मस्कट : करण केसीको उत्कृष्ट प्रदर्शनमा नेपालले नेदरल्यान्डलाई ४ विकेटले पराजित गरेको छ ।
ओमानमा जारी पाँच देश सम्मिलित टी–२० सिरिजको दोस्रो खेलमा नेपालले रोमाञ्चक जित निकालेको हो ।
नेपालको जितका लािग करणले ब्याटिङ र बलिङ दुबैमा उत्कृष्ट प्रदर्शन गरे। उनले नेपालका लागि ४ विकेट लिए भने नटआउट ३१ रन जोडे।
नेपाललाई १२ बलमा २८ रन आवश्यक परेका बेला करणले विष्फोटक ब्याटिङ गर्दै जित दिलाएका हुन् ।
उनले ३.३ ओभर बलिङ गर्दै ४ विकेट लिए भने नटआउट ३१ रन जोडे। १४ बल ब्याटिङ गरेका उनले ३ छक्का र १ चौका हिर्काए।
अन्तिमसम्म सुस्ताएको नेपालको ब्याटिङ विनोद भण्डारीले केही उकासेका थिए। उनले २ छक्काको मद्दतमा २६ रन जोडे। छैठौँ विकेटका लागि विनोद आउट हुँदा नेपालको स्कोर १०६ रन थियो भने २ ओभर बाँकी थियो। त्यसपछि आएका सोमपालले करणलाई साथ दिए। १९औँ ओभरको पहिलो बलमा करणले १ रन जोडे । त्यसपछि सोमपालले १९.२ ओभरमा करणलाई स्टम्प दिए। १९.३ ओभरको बलमा करणले कुनै रन जोड्न सकेनन्। त्यसपछि १९औँ ओभरको चौँथो बलमा करणले छक्का हिर्काए। उक्त ओभरमा नेपालले ११ रन जोड्यो।
नेपाललाई जितका लागि ६ बलमा १७ रन आवश्यक भयो। करणले २०औँ ओभरको पहिलो बलमा छक्का हिर्काए। दोस्रो बलमा कुनै रन लिन सकेनन्। तर त्यसपछिका दुई बलमा लगातार चौका र छक्का हिर्काए। त्यसपछि बाँकी २ बलमा १ रनको आवश्यकता प¥यो। उनले अन्तिम ओभरको पाँचौँ बलमा आवश्यक १ रन लिएर १ बल बाँकी छँदै नेपाललाई रोमाञ्चक जित दिलाए।
नेपालको जितका लागि कप्तान पारस खड्काले महत्वपू्र्ण ३३ रन जोडे। त्यस्तै सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरे। चार ओभर बलिङ गरेका उनले २० रन खर्चेर महत्वपूर्ण ४ विकेट लिए। ललितनारायण राजवंशीको नाममा पनि १ विकेट रह्यो।
नेदरल्यान्डका लागि म्याक्स ओडडले सर्वाधिक ४३ रन जोडे। त्यस्तै कोलिन एकरम्यानले २९ र एन्टोनियस स्टलले २१ रन जोडे।
नेदरल्यान्ड टस हारेर पहिलो ब्याटिङ गरेको थियो। उसले १९.३ ओभरमा सबै विकेट गुमाउँदै १३३ रन जोडेको थियो।
सिरिजमा नेपालसहित आयोजक ओमान, हङकङ, आयरल्यान्ड र नेदरल्यान्ड सहभागी छन्।
नेपालले अब बुधबार आयरल्यान्ड र बिहीबार ओमानसँग खेल्नेछ।