३० महिनामा बन्नु पर्ने नलगाड जलविद्युत आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) ४१ महिना बित्दा पनि बन्न सकेको छैन। डीपीआर तयार गर्ने जिम्मा लिएको परामर्शदाता कम्पनीको ढिलासुस्ती र लापरवाहीले अन्तिम प्रतिवेदन तयार पार्न भएको हो।
तोकिएको समयसीमामा बनाउन नसकेपछि परामर्शदाता कम्पनीले सरकारलाई हर्जाना दिनुपर्ने अवस्था आएको छ। डीपीआर निर्माणका लागि नलगाड हाइड्रोपावर कम्पनी लिमिटेडसँग परामर्शदाता कम्पनी अस्ट्रेलियाको स्मेक, अमेरिकाको एमडब्लूएच र नेपालको उदय कन्स्ट्रक्सन प्रालि जेभीले २०७३ वैशाख २४ गते ९४ करोड ८ लाखको ठेक्का सम्झौता गरेका थिए।
ठेक्का सम्झौता गरेको मितिले ३० महिनाभित्र आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार पार्ने सम्झौतापत्रमा उल्लेख थियो। निर्धारित समयमा काम सम्पन्न हुन नसकेपछि नलगाड हाइड्रोपावर कम्पनी लिमिटेडले परामर्शदाता कम्पनीलाई पहिलो पटक ६ महिना र दोस्रो पटक ३ महिना ४ दिनको समय थप गरेको थियो। परामर्शदाता कम्पनीका लागि दोस्रो पटक थप गरिएको समय पनि गत साउन ३० गते समाप्त भइसकेको नलगाड हाइड्रोपावर कम्पनी लिमिटेडका निमित्त प्रमुख कार्यकारी अधिकृत रामगोपाल लागेजुले जानकारी दिए। तर अझै काम सम्पन्न हुन सकेको छैन।
ठेक्का सम्झौताअनुसार दुई पटकभन्दा बढी म्याद थप गर्न नसकिने भएकाले अबको विकल्प भनेकै हर्जान तिरेर जतिसक्दो छिटो काम सक्नुपर्ने निमित्त प्रमुख कार्यकारी अधिकृत लागेजुले बताए।
कार्यालयले म्याद थप नगरेपछि अब परामर्शदाता कम्पनीले खरिद ऐनमा भएको व्यवस्थाअनुसार सरकारलाई दैनिक हर्जाना तिर्नुपर्ने भएको छ। परामर्शदाता कम्पनीले ठेक्का सम्झौता भएको कुल बजेटको शून्य दशमलव ०५ प्रतिशत दैनिक हर्जाना तिर्नुपर्ने प्रावधान छ। आयोजनाको डीपीआर तयार पार्दासम्म परामर्शदाता कम्पनीले झन्डै १० प्रतिशत हर्जाना तिर्नुपर्ने हुन सक्ने अनुमान गरिएको छ। १० प्रतिशत हर्जाना करिब १० करोड रुपैयाँ हुन्छ।
परामर्शदाता कम्पनीले डीपीआरको ड्राफ्ट डिसेम्बरसम्म आयोजनामा बुझाइसक्ने बताएको छ। तर डीपीआर आउनलाई माघ फागुनसम्म लाग्ने अनुमान छ। परामर्शदाता कम्पनीले आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) सकिसकेको भए पनि सुरुङ टेस्ट अडिट, रक मेकानिकल अडिट जस्ता काम गर्न अझै बाँकी छ।
बाँधस्थल अँधेरी खोलामा ६०–६० मिटरका ४ सुरुङको टेस्ट अडिट भइसकेको छ। तर पावर हाउसमा गर्नुपर्ने सुरुङ टेस्ट अडिट अझै बाँकी रहेको परामर्शदाता स्मेकका भूगर्भविद् धनबहादुर श्रेष्ठले बताए। भूगर्भविद् श्रेष्ठका अनुसार पावर हाउसमा ३ सय ३२ मिटरको सुरुङको अडिट गर्नुपर्नेमा हालसम्म २ सय ८० मिटरको मात्र गरिएको छ। अझै ६० मिटरभन्दा बढी सुरुङ टेस्ट अडिट गर्न बाँकी छ। ‘सुरुङ टेस्ट अडिटको काम सकिएपछि रक मेकानिकल अडिटको काम बाँधस्थल अँधेरी खोला र पावर हाउस दुवै ठाउँमा एकसाथ गरिनेछ,’ भूगर्भविद् श्रेष्ठले भने।