इटहरी- जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङ आज नेपाल आउँदैछन्। सीको नेपाल भ्रमण दक्षिण एसियाली राष्ट्रको छैटौं भ्रमण हो। यसअघि उनले माल्दिभ्स, श्रीलंका, पाकिस्तान, बंगलादेश र भारतको भ्रमण गरिसकेका छन्। उनी आज भारत भ्रमण सकेर नेपालमा आउन लागेका हुन्।
सी चिनफिङ विचारका प्रतिपादक हुन्। उनको चिनारी यतिमै सीमित छैन, अरु थुप्रै कुराले पनि उनलाई विश्वसामु चिनाएको छ। तर, कतिपय कुरा धेरैका लागि ‘सेक्रेट’ बनेका छन्।
तीमध्ये केही यस्ता छन्-
१. बौद्ध धर्मका समर्थक र सनातनी चिनियाँ परम्पराका रक्षक
चीन संवैधानिक रूपमा गैरधार्मिक देश हो अर्थात् चीनमा धर्मको स्थान राज्यको कुनै पनि निकायमा औपचारिक रूपमा छैन। तर, सीले चीनको आर्थिक विकासको भ्याकुम भर्न चीनको सनातनी आस्था महत्त्वपूर्ण हुने विचार राख्दै आएका छन् । उनले तिब्बती बौद्ध धर्म, ताओ धर्म र कन्फ्युसियस धर्म लगायतका चिनियाँ धर्म लाई मान्नुपर्ने तर्क गर्दै आएका अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।
सी बौद्ध धर्मका समर्थक पनि हुन्। चीनमा बसेर लेखनमा सक्रिय इआन जोनसोनले सन् २०१७ मार्च १४ मा लेखेको आलेख अनुसार सीको सन् १९८२ देखि युमिङ नामक तिब्बती बौद्ध भिक्षुसँग मित्रता भयो। त्यही मित्रताको कारण उनी बौद्ध धर्मप्रति शुभेच्छुक भएका हुन्।
२. दुई विवाह, एक डिभोर्स, हालकी पत्नी चर्चित लोक गायिका
सीले दुई विवाह गरेका छन्। उनले सबैभन्दा पहिले सन् १९८२ मा के लिङलिङसँग विवाह गरेका थिए। लिङलिङ बेलायतका लागि चीनका पूर्वराजदूतकी छोरी हुन्। तर, उनीहरूको तीन वर्षमै सम्बन्धविच्छेद भयो।
त्यसपछि सीले सन् १९८७ मा चर्चित चिनियाँ लोक गायिका पेङ लियुआङसँग विवाह गरे। राष्ट्रपति हुनुअगाडि सीलाई भन्दा उनकी पत्नी लियुआङलाई धेरैले चिन्ने गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।
३. पिएचडी गर्ने पहिलो चिनियाँ राष्ट्रपति
४. सबैभन्दा अग्ला राष्ट्रपति
राजनीतिकरूपमा चिनियाँ कम्युनिस्ट पार्टीको ‘कोर’ नेताको रूपमा माओकै उचाईमा पुगेका सी शारीरिकरूपमा पनि माओजत्तिकै अग्ला छन्। उनी र माओ सबैभन्दा अग्ला चिनियाँ राष्ट्रपति भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्। बेलायती अनलाइन मिरर डट युकेका अनुसार सीको उचाई ५ फिट ११ इन्च छ।
५. रक्षामन्त्रीको निजी सचिवदेखि राष्ट्रपतिसम्म
सन् १९७४ मा चिनियाँ कम्युनिस्ट पार्टीमा प्रवेश गरेका सीले सन् १९७९ देखि १९८२ सम्म तत्कालीन रक्षामन्त्री गेङ्ग बिआगोको निजी सचिव भएर काम गरे। सन् १९८५ देखि १९८८ सम्म उनी फुजिआन प्रान्तको जिआमेन नगरका कार्यकारी उपमेयर बने। सन् १९९९ देखि २००० सम्म उनी सोही प्रान्तको उपगभर्नर बने । सन् २००० देखि २००२ सम्म गभर्नर बने । सन् २००८ देखि २०१३ सम्म चीनको उपराष्ट्रपति भए । सन् २०१३ मार्च १४ मा चीनका सातौं राष्ट्रपति बने।
६. पूर्वउपप्रधानमन्त्रीका छोरा
सी चीनका शक्तिशाली नेता माओका निकटपात्र तथा पूर्वउपप्रधानमन्त्री सी जोङ्सुनका छोरा हुन्।
माओसँग चिनियाँ सांस्कृतिक क्रान्तिका क्रममा मतभेद भएपछि बुबासँगै उनलाई पनि श्रम शिविर पठाइएको थियो। सीले शिविरमा ६ वर्ष बिताए।
त्यसपछि उनलाई बुबाकै कारण पार्टीको सक्रिय राजनीतिमा लाग्न दिइएको थिएन। तर, सन् १९७४ मा चारपटकको प्रयासपछि मात्रै उनलाई पार्टीले सक्रिय राजनीतिमा लाग्न सहमति दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
– एजेन्सीको सहयोगमा ए