गृहपृष्ठ खबर कपिलवस्तु सामुदायिक अस्पतालमा आखाको उपचार सुरु

कपिलवस्तु सामुदायिक अस्पतालमा आखाको उपचार सुरु

प्रकाशित मिति:

विश्व दृष्टि दिवसको अवसरमा सामुदायिक अस्पतालमा प्राथमिक आँखा उपचार केन्द्रको उद्घाटन गरिएको छ । नेपाल नेत्र ज्योति संघले बुधबार एक कार्यक्रमको आयोजना गरी कपिलवस्तु सामुदायिक अस्पतालमा प्राथमिक आँखा उपचार केन्द्रको उद्घाटन गरेको हो । लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर श्री रण अम्बिका शाह आँखा अस्पताल भैरहवा, रुपन्देहीले दृष्टि पहिलो प्राथमिकता भन्ने मूल नारालाई आत्मसात गर्दै कपिलवस्तुमा शाखा खोलेको बताएको छ ।


उद्घाटन समारोहलाई सम्बोधन गर्दै वाणगंगा नगरपालिकाका नगर प्रमुख मंगलप्रसाद थारुले कपिलवस्तुको सामुदायिक अस्पतालमा खोलिएको आँखा अस्पतालले स्थानीयको आवश्यकता पुरा गर्ने दावि गरे । उनले प्रत्येक वडामा आँखा शिवीर कहिले आउँछ भनेर कुरेर बस्ने अवस्थाको अन्त्य हुने बताउँदै शिशु अस्पताललाई मलजल गरी विस्तार गर्नुपर्ने स्थानीयको दायित्व भएको प्रस्ट पारे । आफू र स्थानीय सरकारबाट अस्पताललाई कुनै कमी हुन नदिने प्रतिवद्धता समेत जाहेर गरेका थिए ।
यस्तै कार्यक्रममा मेडिकल निर्देशक प्रोफेसर नन्दा गुरुङले आवश्यकता अनुसार सेवा सुविधाहरु प्रवाह गर्नका लागि कपिलवस्तुमा सेवा विस्तार गरिएको बताइन् । दृष्टि पहिलो प्राथमिकता भन्दै महत्वपूर्ण अङग आँखालाई बचाइराख्न समय समयमा सबैलाई आँखा जाँच गर्न समेत आग्रह गरिन् ।


कार्यक्रममा सागर प्रताप राणा, वडा नम्बर ४ का वडा अध्यक्ष गणेश बहादुर क्षेत्री लगायतले विश्व दृष्टि दिवसको अवसरमा कपिलवस्तुका स्थानीय बासीलाई अव कपिलवस्तु बाहिर आँखा उपचार गर्न जानुपर्ने बाध्यताको अन्त्य गर्न प्राथमिक आँखा उपचार केन्द्रको उद्घाटन गरिएको बताए । आँखाको ज्योति गुम्ने बेला सम्म शिविर कुरेर बस्न नपर्ने र सामान्य सर्जरी समेत हुने धारणा राखेका थिए ।
कार्यक्रममा नेपाल नेत्र ज्योति संघ कपिलवस्तु शाखाका अध्यक्ष रमेश शर्माको अध्यक्षता, वाणगंगा नगरपालिकाका नगर प्रमुख मंगलप्रसाद थारुको प्रमुख आतिथ्यता रहेको थियो । यस्तै नेपाल नेत्रज्योति संघ केन्द्रीय सदस्य सागर प्रताप राणाको विशिष्ट आतिथ्यता, विभिन्न संघसंस्थाका प्रतिनिधि, स्थानीय, समाजसेवी, बृद्धिजिवी, पत्रकारहरुको आतिथ्यता रहेको थियो । सामुदायिक अस्पताल कपिलवस्तुका अध्यक्ष रामजी सेनको स्वागत मन्तव्य रहेको कार्यक्रम सामुदायिक अस्पताल कपिलवस्तुका महासचिव पोमनारायण पौडेलको संचालनमा सम्पन्न भएको थियो ।

सम्बन्धित् समाचार