बुटवल, कार्तिक १८ ।
प्राविधिक ज्ञान तथा त्यसको व्यवहारिक उपयोगका बारेमा कपिलवस्तुका केही युवाहरुले सुरु गरेको कम्प्युटर शिक्षा साक्षरता कार्यक्रम प्रभावकारी भएको छ । राइट स्टेप कम्प्युटर एजुकेशन एकेडेमीका नामबाट कपिलवस्तुबाट झण्डै नौ वर्ष अघि सुरु भएको कम्प्यूटर साक्षरता अभियान अहिले देशव्यापी भएको छ । स्कुले किशोर किशोरीहरुदेखि सामान्य साक्षर मानिसलाई कम्पयुटर शिक्षा सिकाउने उद्देश्यले २०६८ सालमा स्थापना भएको यो अभियान सोमबारदेखि लुम्बिनीमा पनि सुरु भएको छ ।
बुद्ध जन्मस्थल लुम्बिनीका बालबालिका तथा विद्यार्थीहरुलाई कम्प्युटर शिक्षामा साक्षर बनाउने भन्दै लुम्बिनीमा सोमबार एक समारोहका बीच अभियानको शुभारम्भ गरिएको छ । लुम्बिनी विकास कोषको सभाकक्षमा लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश त्रिपाठी (भन्ते मेत्तेय) र लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरीले संयुक्त रुपमा अभियानको शुभारम्भ गर्नुभयो ।
त्यसअवसरमा उहाँहरुले कम्प्युटर शिक्षालाई सर्वसुलभ र विस्तार गरेको भन्दै अभियानकर्ताहरुको प्रशंसा गर्नुभयो । अहिलेको आवश्यकतालाई पूर्ती गर्न सक्नेगरि जनशक्ति तयार पार्ने काममा आफुहरुले पनि सहकार्य गर्ने बताउँदै नगर प्रमुख चौधरीले एकेडेमिक तहका कक्षालाई पनि अगाडि बढाउन जरुरी रहेको बताउनुभयो । सबैका लागि सर्वसुलभ र निशुल्क कम्प्युटर शिक्षा अभियान भन्ने नाराले आफुहरुलाई आकर्षित गरेको भन्दै लुम्बिनी विकास कोषका उपाध्यक्ष शाक्यपुत्र त्रिपाठीले अभियानका सबैले सहकार्य गर्नुपर्ने बताउनुभयो ।
कपिलवस्तुदेखि जुम्ला, कालिकोट, कन्चपुरसम्मका ४० जिल्लामा कम्प्युटर कोर्ष (पिडिआइसिए) संचालन गरी त्यहाँका विद्यार्थीलाई कम्प्युटर शिक्षा प्रदान गरिदै आएको अभियानका संस्थापक अध्यक्ष तथा अगुवा दीपेन्द्र शर्मा पौडेलले बताउनुभयो ।ती जिल्लाका झण्डै ७० वटा सूचिकृत कम्प्युटर इन्ष्टिच्यूटहरुमार्फत् अभियान सञ्चालन गर्दै आएको अगुवा पौडेलले बताउनुभयो । एक वर्षे प्रोफेस्नल डिप्लोमा इन कम्प्युटर एप्लीकेटियो कोर्षमा अहिले एकै साथ करिब २० हजार भन्दा धेरै विद्यार्थीले कम्प्युटर शिक्षा लिइरहेको अभियानकर्ताहरुले बताएका छन् ।
विद्यार्थीलाई कम्प्युटर सम्बन्धी एक वर्षे कोर्षमा सामान्य कार्यालयमा प्रायोजनमा आउने कम्प्युटरका विभिन्न बेसिक प्रोगामदेखि हार्डवेयर सम्मको कोर्ष पढाइ भइरहेको छ । अभियन्ताहरुले गरिब, अपाङ्ग विद्यार्थीहरुलाई निशुल्क कम्प्युटर अध्ययन गराईरहेका छन् ।
हरेक वर्ष विद्यार्थी सहभागिता, उनीहरुको क्षमताको विकास र जनशक्तिको उपयोगलगायतका आधारमा शाखाहरुमध्येबाट छनौट गरेर एउटा संस्थालाई पुरस्कृत गरिँदै आएको अध्यक्ष पौडेलले बताउनुभयो ।
कार्यक्रमकै अवसरमा लुम्बिनी विकास कोषले अभियानमा सहकार्य गर्ने भन्दै केही थान कम्प्युटरसमेत प्रदान गरेको थियो । ‘लुम्बिनी क्षेत्रकै बालबालिकाहरुले अध्यय्न गर्ने र लुम्बिनीमै अभियानको केन्द्र बनाएकाले आफुहरुले सहकार्य गरेको कोषका निमित्त सदस्य सचिव इन्जिनियर सरोज भट्टराईले बताउनुभयो । संस्थाले अभियानमा सहकार्य गर्ने र सहयोग पु¥याउने संस्था तथा विभिन्न व्यक्तिवहरुलाई सम्मानसमेत गरेको थियो । कार्यक्रममा अभियानकर्ताहरु यमलाल खरेल, सीटीईभीटीका प्रतिनिधि प्रदीपराज पाण्डेलगायतले बोल्दै अभियानको सफलताको कामना गर्नुभयो ।
अपांग र जेहेन्दारलाई निशुल्क कम्प्युटर शिक्षा
कम्प्युटर शिक्षा लिन चाहेका तर आर्थिक अभाव भएका विद्यार्थीहरुलाई सम्बन्धित सरकारी निकायको सिफारिसमा निशुल्क शिक्षासमेत प्रदान गर्दै आएको छ । जेहेन्दारलाई सहुलियत रुपमासमेत अध्यापन गराउँदै आएको अभियानकर्ताहरुले बताएका छन् । यो संस्थालाई नेपाल सरकारले सूचिकृत गर्दै आइएसो ९००१ : २००८ गुणस्तर चिन्ह प्रदानसमेत गरिसकेको छ । देशभरका झण्डै दुई हजार जना असक्त र अपाङ्ग एवम् जेहनदार विद्यार्थीलाई सम्बन्धित निकायको सिफारीसमा पूर्ण निशुल्क शिक्षा प्रदान गरिरहेको कार्यक्रम संयोजक तथा मेघाटेक इन्ष्टिच्यूटका सञ्चालक यमलाल खरेलले जानकारी दिनुभयो ।