पुर्व माननिय स्वर्गिय भगवानदास गुप्तको २२ औं स्मृती दिवशको पुण्य तिथी समारोह तौलिहवामा सम्पन्न गरिएको छ । भगवानदास गुप्त स्मृती प्रतिष्ठानको आयोजनामा तौलिहवामा २२ पुष्यतिथी समारोहको अवसरमा बिभिन्न कार्यक्रमको आयोजना गरिएको हो ।

सो अवसरमा बिभिन्न क्षेत्रका अगुवाको सम्मान, बाल गृहका अनाथ बालक र अस्पतालका बिरामीलाई फलफुल बितरण तथा प्रशासन चौकमा रहेको स्वर्गिय गुप्तको शालिकमा माल्यार्पण गरिएको थियो । बिस २०२१ देखी सक्रिय राजनितीमा लागेर गाँउ बिकास समितीको सदस्य, जिल्ला पञ्चायत सभापति हुदै माननिय भएका स्वर्गीय गुप्तको स्मृतीमा २०५७ सालमा गठित प्रतिष्ठानको आयोजनामा प्रत्यक बर्ष स्मृती दिवश मनाउने गरिएको छ । कार्यक्रममा बोल्दै प्रतिष्ठान संरक्षक रामदास गुप्ता, प्रदेशसभा सदस्य दृघनारायण पाण्डेय, धर्मबहादुरलाल श्रीवास्तब, पुर्वमन्त्री ईश्वरदयाल मिश्र लगायतले स्वर्गिय गुप्ताको त्याग, निष्ठा र ईमान्दारिताको पदचिन्हमा हिडेर स्वर्गिय गुप्त प्रति सच्चा श्रद्धान्जली दिनु पर्ने बताए ।
स्वर्गिय गुप्ता परोपकारी र ईमान्दार व्यक्ति रहेको शिक्षासेवी तेज कुमार बौद्धाचार्यले बताए । सत्कर्म गर्नेलाई समाजले सदैव स्मरण गर्ने बताउदै स्वर्गिय गुप्ता ईमान्दार र समाजसेवी व्यक्तित्व रहेको पुर्व मन्त्री दिप कुमार उपाध्यायले बताए । गुप्ता कहिल्यै पनि आफनो व्यक्तिगत स्वार्थबाट प्रभावित नभएको स्मरण गराउदै उपाध्यायले आफुहरु बिच चुनावी प्रतिश्पर्धा भए पनि कहिल्यै मन मुटाव नभएको बताए ।
प्रतिष्ठानका अध्यक्ष समेत रहेका स्वर्गिय गुप्ताका छोरा प्रतिनिधी सभाका साँसद बृजेश कुमार गुप्ताले निष्ठा र ईमान्दारिताको आफनो पिताको निती सदैव आफ्ना लागी मार्ग दर्शन हुने बताए । पिता स्वर्गिय गुप्ताले परिवार भन्दा समाज र राजनितीमै समय दिएकाले पिता सँग बाल्यकालमा समय नपाएको उनले गुनासो गरे । स्वर्गिय पिताका नाममा गठित प्रतिष्ठानको सदस्यता लागी दैनिक १ रुपैयाका दरले बार्षिक ३ सय ६५ रुपैया सहयोग दिई सदस्य बन्न आग्रह गर्दै सो सहयोग रकम गरिबलाई स्वास्थ्य उपचारमा खर्चिने उनले प्रष्टयाए । त्यसै गरि हजुर बुवा पशुपति प्रताप साहुको स्मृतीमा १ लाख रुपैया राशीको अक्षय कोष घोषणा गर्दै सो को व्याजबाट जेहेन्दार बिद्यार्थीको उच्च शिक्षाका लागी सहयोग गरिने बताए । स्वर्गिय पिताको जिवनी प्रकाशनको तयारी समेत अगाडी बढाईएको उनले जानकारी दिए । कार्यक्रममा शिक्षा क्षेत्रमा योगदान दिएका तेज कुमार बौद्धाचार्य, स्वास्थ्य क्षेत्रमा योगदान दिएकोमा सरला उप्रेती, पत्रकारितामा योगदान दिएका बनारसी वर्मा र समाजसेवी तर्फ श्याम सुन्दर चौधरी र हरिद्धार यादवलाई सम्मनित गरिएको थियो । जर्नादन गिरीको सञ्चालनमा सम्पन्न कार्यक्रममा प्रतिष्ठान सदस्य सुदिप पौडेलले स्वागत मन्तब्य दिएका थिए ।








