दाङ – लमहीमा सर्पदंश उपचार केन्द्र स्थापना हुने भएको छ । २ करोड रुपैयाँभन्दा बढीको लागतमा दाङको लमहीमा बन्न लागेको सर्पदंश उपचार केन्द्रको सोमबार शिलान्यास गरिएको हो ।
लमही नगरपालिकाले लमही अस्पताल भवनको नजिकै यो सर्पदंश उपचार केन्द्र भवन निर्माण गर्न लागेको हो । पश्चिममा नेपालगञ्जदेखि पूर्वमा कपिलवस्तुसम्म सर्पदंश उपचार केन्द्र नरहेको र सर्पको टोकाइबाट बर्सेनि ज्यान गुमाउनेको संख्या बढ्दै गएकोले सर्पदंश उपचार केन्द्रको निर्माण थालिएको नगरपालिकाले जनाएको छ ।
सर्पदंश भवनको शिलन्यास गर्दै लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीले अब सर्पको टोकाइबाट अकालमा ज्यान गुमाउनु नपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘अस्पताल निर्माण सम्पन्न भएपछि अस्पतालमा औषधि र अन्य सेवामा कमी आउन दिनेछैनौँ ।’
यस्तै, शिलान्यास कार्यक्रममा लमही नगरपालिका उप–प्रमुख देवका बेल्वासेले अस्पतालमा सरकारी डाक्टरहरुले सकारात्मक भुमिका निर्वाह गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
लमही नगरपालिकाका इञ्जिनियर विजयदेव चौधरीले २ करोड ७ लाख रुपैयाँ बजेटमा सर्पदंश उपचार केन्द्र भवनको निर्माण हुने बताउनुभयो । भवन निर्माणका लागि डोको कन्सल्टेन्ट एण्ड कन्सट्रक्सन प्रा.लि र लमही नगरपालिकाबीच सम्झौता भइसकेको छ । भवन निर्माणको लागि २०७७ साल साउन ६ गतेसम्मको अवधि दिइएको इञ्जिनियर चौधरीले जानकारी दिनुभयो ।










