प्रदेश ५ सरकारले बुधबार बर्दियाको ठाकुरद्वाराबाट नेपाल भ्रमण वर्ष २०२० को प्रदेशस्तरीय शुभारम्भ गरेको छ ।
प्रदेश सरकारका मुख्यमन्त्री शङ्कर पोखरेलले प्रदेशमा भ्रमण वर्षको शुभारम्भ गरेका हुन् । ‘घुम्न जाऊँ बर्दिया’ भन्ने नाराका साथ शुरु भएको कार्यक्रमा मुख्यमन्त्री पोखरेलले पर्यटनलाई प्रदेश सरकारले विषेश ध्यान दिएको बताए । अन्तर्राष्ट्रिय रुपमा चिनाउने पाटेबाघ पाईने बर्दियालाई अन्तर्राष्ट्रिय रुपमा चिनाउन सबैले सहयोग गर्नुपर्ने उनको भनाइ थियो ।
विश्वको उत्कृष्ट पर्यटकीय गन्तव्यस्थलमध्ये बर्दिया राष्ट्रिय निकुञ्ज पनि एक हो । बर्दियामा हात्ती सफारी, पैदल सफारी तथा जीप सफारीबाट पाटेबाघ र गैँडा अवलोकन गर्न पाइन्छ । साथै मनोरम प्राकृतिक छटाले पनि यो निकुञ्जप्रति जो कोही मोहित हुन पुग्छ ।
बर्दियाको पाटे बाघको महत्त्व यसरी थपियो
केही बर्ष अघि हलिउड नायक लियोनार्दो डिकाप्रियोसँग आएका फोटोग्राफरले निकुञ्जमा खिचेको फोटो सार्वजनिक भएपछि बर्दिया राष्ट्रिय निकुञ्ज बाघको खानी रहेको विश्वलाई थाहा भएको प्रदेशसभा सदस्य तिलक शर्माले बताए ।
हलिउड नायकसँग रहेका फोटोग्राफरले समूहमा रहेका बाघको फोटो सार्वजनिक गरेपछि अन्तर्राष्ट्रियजगतमा बाघको बैभव भनेर बर्दिया जिल्ला चिनिन थालेको हो । त्यसैले पनि प्रदेश सरकारले बर्दियाबाटै प्रदेशस्तरमा भ्रमण वर्ष २०२० शुरु गरेको हो ।
बर्दियामा बाघ, गैँडा र हात्ती हेर्न हजाराँै पर्यटक आउने बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए । पाटे बाघकै कारण अन्तर्राष्ट्रिय जगत्मा बर्दियाले आफ्नो पहिचान बनाएको छ ।
बर्दियामा एकमात्र पिलर भएको कर्णाली पुल, ठाकुरबाबा मन्दिर, थारू सङ्ग्रहालय, गोही प्रजनन् केन्द्र छन् । मधुवन नगरपालिकाको खाटा करिडोरमा ८७ बाघ, ३७ गैँडा र १०० जङ्गली हात्ती छन् । राजापुर नगरपालिकामा पर्ने कर्णाली (गेरुवा)मा ६ डल्फिन, गेरुवा गाउँपालिकामा पर्ने बाह्रसिङ्गे जरायो क्षेत्रमा नेपालकै दोस्रो धेरै ७९ बाह्रसिङ्गे जरायोे छन् ।
स्तनधारी ६१, संरक्षित प्रजाति १०, पक्षी ४३४ मध्ये संरक्षित प्रजाति ६, घस्रने वन्यजन्तु ४२ मध्ये संरक्षित प्रजाति तीन, माछा प्रजाति १२०, साल वन ७० प्रतिशत निकुञ्जभित्र छन् ।
गुलरिया नगरपालिकामा ७०८ बिघामा फैलिएको कृष्णसार संरक्षण क्षेत्रमा विश्वकै दुर्लभ २२९ कृष्णसार छन् । बारबर्दिया नगरपालिकामा परेवाओढार, रानी जरुवा, सत्तखोलुवा ताल छन् । बढैयाताल गाउँपालिकामा १०७ बिघामा फैलिएको बढैयातालमा ४३४ प्रजातिका साइबेरियाली चरा पाइन्छ । बाँसगढी नगरपालिकामा १०८ फिट अग्लो शिवलिङ्ग भएको धार्मिक तीर्थस्थल ओम केदारेश्वरधाम छ ।
निकुञ्ज आसपासमै ३५ होटलले पर्यटकीय गन्तव्यको पहिचान दिएको बर्दिया जिल्ला समन्वय समितिका संयोजक शङ्करप्रसाद थारूले बताए ।
नेपाल भ्रमण वर्ष सन् २०२० आयोजक समितिको प्रदेश संयोजक समेत रहेका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले भ्रमण वर्ष शुभारम्भको उद्घाटन कार्यक्रमसँगै प्रदेश ५ को लुम्बिनीदेखि बर्दिया सम्म अन्तर्राष्ट्रिय पर्यटक भित्राउन सहज पुग्ने बताए ।
यसरी हुँदैछ काम
सन् २०२० लाई नेपाल भम्रण वर्ष घोषणा गरेको सरकारले उक्त अवधिमा नेपालमा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य लिएको छ । नेपालका सातैवटै प्रदेशले भ्रमण वर्ष अवधिमा विभिन्न कार्यक्रम गर्नेछन् ।
प्रदेश ५ सरकारले नेपाल भ्रमण वर्ष २०२० लाई सफल र प्रभावकारी रुपले संचालन गर्ने आधार तयार गर्न लुम्बिनी भ्रमण वर्ष २०७६ घोषणा गरेर विभिन्न कार्यक्रमहरु संचालन गरिरहेको छ ।
प्रदेश ५ मा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरी संयोजक र पर्यटन व्यवसायी नेपाल सहसंयोजक रहेको पर्यटन प्रवद्र्धन समिति गठन गरिएको छ ।
नेपाल भ्रमण वर्ष र लुम्बिनी भ्रमण वर्ष सफल बनाउन पर्यटन व्यवसायसँग सम्बन्धित प्रदेश ५ का संस्थाहरुले विभिन्न कार्यक्रम आयोजना गरेका छन् । भ्रमण वर्षलाई मध्यनजर गर्दै पर्यटकीय पूर्वाधार विकास र सेवा स्तरीकरणलाई विशेष ध्यान दिइएको छ ।
पर्यटन मन्त्रालय संयोजक गणेश घिमिरेका अनुसार प्रदेश ५ का स्थानीय स्तरमा पनि १ सय ९ वटा समिति गठन गरेर काम भएको छ । संघीय सरकारले २५ लाख रुपयाँ बजेट विनियोजन गरेको छ भने प्रदेशको मन्त्रालयले १ करोड ४६ लाख रुपैयाँ विनियोजन गरेको नेपाल भ्रमण बर्ष सचिवालय संयोजक गणेश घिमिरेले रातोपाटीलाई बताए ।
प्रदेश सरकारले संचालन गरेको लुम्बिनी भ्रमण वर्ष आगामी वैशाख पुर्णिमासम्म चल्ने छ । लुम्बिनी भ्रमण वर्षलाई पनि यो भ्रमण वर्षले टेवा दिने प्रदेश सरकारको अपेक्षा छ ।
भैरहवा र बुटवलमा सडक खाना महोत्सव
बुटवल, भैरहवा र लुम्बिनी सडक खाना महोत्सव आयोजना गरिएको छ । भ्रमण वर्ष र अंग्रेजी नयाँ वर्षको अवसर पारेर आयोजकहरुले ठाउँ ठाउँमा खाना महोत्सव राखेका छन् ।










