भक्तपुर : चाँगुनारायण नगरपालिका–७ खरिपाटीका स्थानीयले सञ्चारकर्मीले गर्ने प्रश्नले आफूहरूलाई घरमा बस्नै गाह्रो भइसकेको गुनासो गरेका छन्। सञ्चारकर्मीहरूको प्रश्नले तनाव भएको सुनाउँदै उनीहरूले भने, ‘अब तपाईंहरूलाई गाली गर्ने बेला आएको छ। एकदम धेरै भइसक्यो। सहनुको पनि सीमा हुन्छ नि ? ’
यहाँका स्थानीय अहिले सञ्चारकर्मीदेखि आक्रोशित हुन थालेका छन्। अब त सञ्चारकर्मीले प्रश्न सोध्दा नै झनक्क रिस उठ्ने गरेको स्थानीय महिला बताउँछन्। युट्युब र अनलाइनका पत्रकारले आफूहरूलाई वाहियात प्रश्न गर्ने गरेको उनीहरूको गुनासो थियो। ‘प्रश्न सोध्ने नै कस्तो, रोग लागेका मान्छेलाई ल्याएर राखिएको छ, के तपाईहरूलाई पनि संक्रमण हुन्छ कि ? ’, ती महिलाले भने, ‘यस्तो पनि प्रश्न हुन्छ ? वाहियात प्रश्न ? ’
घरमा ताल्चा लगाएर खेतबारीमा जाँदासमेत कोरोना भाइरसको संक्रमण हुने त्रासले खरिपाटीका स्थानीयले घर छाडे, बसाइँ सरे भन्दा आफूहरूलाई सह्य नभएको भन्दै अर्का स्थानीय पद्मबहादुर महाजूले आक्रोश पोखे।
उनले आफ्नो घरपरिवारका कुनै पनि सदस्यले घर नछाडेको जानकारी दिए। ‘दिउँसो घरमा ताल्चा लाग्दैमा घर छाडेर भागेको हुन्छ ? ’, उनले प्रतिप्रश्न गरे, ‘दिउँसो हामी काम परेर कतै जान हुँदैन ? खेतबारी पनि जान नपाउने, भोजमा जान नपाउने ? ’ सरकारले कोरोना भाइरस संक्रमित नल्याएको र चीनबाट पनि स्वस्थ मान्छे मात्रै पठाएको देखिसकेपछि संक्रमण हुन्छ भनी डराउनुपर्ने कुनै कारण नभएको महाजू बताउँछन्।
उनले सञ्चारमाध्यममा आएजस्तो खरिपाटीका सयौं घरपरिवारले घर नछाडेको स्पष्ट पारे। त्यस्तै, एक अर्की स्थानीय महिलाले आफूहरू मरे पनि खरिपाटीमै मर्ने तर घर नछाड्ने सुनाइन्। भूकम्पमा समेत घर नछाडेका आफूलाई अहिले स्वस्थ मान्छे ल्याएको बेला घर छाड्नुपर्ने कुनै कारण नभएको उनको भनाइ थियो।
११ घरकाले छाडे खरिपाटी
स्थानीयका अनुसार खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रको उत्तर र पूर्वी दिशामा रहेका ११ घरका स्थानीयले घर छाडेका छन्। यसरी घर छाड्नेमध्ये कोही विदेशमा रहेका आफ्ना छोराछोरी भेट्न गएका छन्। कोही तराईमा रहेका आफन्तको घरमा गएको स्थानीय महाजूले सुनाए। त्यस्तै, कोही आफ्नो पुख्र्यौली घर र कोही भक्तपुरकै अन्य क्षेत्रमा रहेका आफन्तका घरमा गएको स्थानीय बताउँछन्। अाजकाे अन्नपुर्ण पोष्ट दैनिकमा खबर रहेकाे छ ।








