सांसदहरुले महामारीको बीमा गर्न आवश्यक रहेको सुझाव बीमा समितिलाइ दिएका छन् ।
सिंहदरबारमा मंगलबार बसेको अर्थ समितिमा बीमा विधेयक माथि दफाबारका क्रममा सांसदहरुले कोरोना भाइरसको लागि छुट्टै बीमा पोलिसी ल्याउँने वातावरण निर्माण गर्नुपर्ने बेला भएको धारणा पनि राखे । बीमाको काम भनेकै जोखिम धारण गर्ने भएकाले बीमा क्षेत्रले कोरोना भाइसको बीमा गर्ने तयारी गर्दा राम्रो हुने सांसदहरुको भनाई छ ।
बीमा व्यवसाय नाफा तथा सेवाको व्यवसाय भएकाले आवश्यकता अनुसार यस व्यवसायले साथ दिनसक्ने विश्वास सांसदहरुले व्यक्त गरे । बीमा समितिले महामारीलाई बीमाले नसमेटने जनाउँदै आएको छ । समितिले बीमा गराइसकेको बिमितको हकमा भने पोलिसीले समेटनेसम्मको सुरक्षण दिँदै आएको जानकारी दिएको छ ।
बैठकमा अर्थ मन्त्री डा. युवराज खतिवडाले रोग लागिसकेको अवस्थामा व्यक्तिले बीमा गराउँन नमिल्ने भएकाले रोग लाग्नुपूर्व बीमा गराउँन सबैलाई सचेत गराउनु पर्ने बताए । उनले जोखिम बहन गर्न नसकेर नयाँ व्यवसाय गर्न नसकेका लागि सरकारले बिमा गरिदिने व्यवस्था बिधेयकमा रहेको जानकारी दिए ।
बैठकमा बीमा समितिका अध्यक्ष चिरन्जीबी चापागाईंले ‘बीमा ऐन २०४९’ कार्यान्वयनमा रहेको र पछिल्लो समय अन्तराष्ट्रिय बीमा क्षेत्रमा नयाँ सिद्धान्तहरु आइसकेकाले नेपालमा पनि नयाँ कानून र व्यवस्थाको आवश्यकता रहेको बताए । विधेयकमा बीमा संस्थान सम्बन्धी ऐन खारेज गरी सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानलाई समेत नियमन गर्ने व्यवस्था पनि रहेको छ ।