कपिलवस्तु जिल्लामा क्रियाशिल विभिन्न राजनैतिक दलका विद्यार्थी संघ संगठनहरुले कोरोना भाईरसका विषयमा साझा धारणा तय गरी यसबाट बच्न र बचाउन अभिप्रेरित हुन क्रियाशिल हुने निर्णय गरेका छन् । अनेरास्ववियु कपिलवस्तु, नेपाल विद्यार्थी संघ, समाजवादी विद्यार्थी युनियन, राष्ट्रिय विद्यार्थी संघ, र अखिल (क्रान्तिकारी ) कपिलवस्तुका विद्यार्थी नेताहरुको तौलिहवामा बसेको बैठकले कोरोना भाईरस अर्थात कोभिड १९ का लागि भारत सँग सीमा जोडिएका नाकाहरुमा आवतजावतमा रोक लगाउने, औषधि र अत्यावश्यक बाहेकका सबै आवतजावत बन्द गर्न माग गरेका छन् ।
उपचार संक्रमण देखिएको अवस्थामा उपचारमा प्रयाप्त तयारी गर्नका लागि पनि विद्यार्थी संघ संगठनहरुले माग पनि गरेका छन् । धेरै भिडभाड हुने ठाउँहरु, अस्पताल, सार्वजनिक यातायात, बैँक, मन्दिर, मस्जिद, गुम्बा, चर्च, पार्क, व्यापारिक केन्द्र, उद्योग लगाएतका स्थानमा सचेतना अपनाउन पनि बैठकले अनुरोध गरेको छ ।
त्यसतै कोरोनाको डर त्रास फैलाई बजारमा कृत्रिम अभाव सिर्जना नगर्न तथा कालोबजारी नगर्न पनि विद्यार्थी संघ संगठनहरुको संयुक्त बैठकले आह्वान गरेको छ । त्यस्तै जिल्लाबासी विद्यार्थी, शिक्षक कर्मचारी लगाएत सम्पूर्ण आम जनतालाई सेल्फ क्वारेनटाइनमा रहनका लागि पनि अनुरोध गरीएको विद्यार्थी संगठनहरुद्धारा जारी गरीएको प्रेस वक्तव्यमा उल्लेख गरिएको छ ।
सम्पन्न बैठकमा नेपाल कम्युनिष्ट पार्टी नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियु जिल्ला संयोजक बाबुराम अर्याल, नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका जिल्ला सभापति राकेश पाण्डे, समाजवादी पार्टी नेपाल निकट विद्यार्थी संगठन समाजवादी विद्यार्थी युनियनका जिल्ला अध्यक्ष मोहित मिश्र, राष्ट्रिय विद्यार्थी संघ जिल्ला अध्यक्ष निश्चलराज श्रीवास्तव र अखिल (क्रान्तिकारी) जिल्ला अध्यक्ष विज्ञान क्षेत्री सहितको संयुक्त बैठकले कोरोना विरुद्ध सबै नागरिक सँगै सरोकारवाला पक्ष सजगताका उपाय सहित संयमित हुनुपर्नेमा पनि जोड दिएको छ ।