गृहपृष्ठ अर्थ/वाणिज्य कोरोना महामारीमा इतिहासकै लाजमर्दो अनियमितता भयो ! यी हुन् मुख्य अनियमितताका योजनाकार

कोरोना महामारीमा इतिहासकै लाजमर्दो अनियमितता भयो ! यी हुन् मुख्य अनियमितताका योजनाकार

प्रकाशित मिति:

चीनबाट एक अर्ब नेपाली मूल्यभन्दा बढीको स्वास्थ्य सामाग्री लिएर नेपाल वायु सेवा निगमको विमान त्रिभुवन विमानस्थलमा उत्रिनुअघि नै कमिशनको ठूलो आशंकाबारे चर्चा चलिसकेको थियो । अन्तर्राष्ट्रिय बजारमा चलेको मूल्यभन्दा दोब्बर देखि सात गुना बढी मूल्य तिरेर सामाग्री ल्याइएको यस सम्बन्धी जानकारहरुले खुलाइसकेका छन् ।


चीनको ग्वाङजाओमा बस्दै आएका एकजना नेपाली व्यापारी नविन विकले सामाजिक सञ्जालमा स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई खुल्लापत्र लेख्दै करोडौंको अनियमितता भएको आरोप लगाएका छन् । उनले चीनमा पर्ने मूल्य र नेपाल सरकारले खरिद गरेको मूल्यको फरक उल्लेख गर्दा मुख्य सामाग्रीको ४४ लाख ४० हजार डलर मूल्य फरक आएको देखिन्छ । यो ५५ करोड नेपाली रुपैयाँ हो ।

एक अर्बको सामान खरिद गर्दा आधाभन्दा बढी अनियमितता भएको उनको आरोप छ । हरेक सामाग्रीमा करोडौंको अनियमितता भएको तथ्यांकनै प्रस्तुत गरेका छन् । उनले लेखेका छन्, ‘कोरोना टेष्टको पिसिआर किटमा १४ करोड, चश्मामा १५ करोड, गाउनमा ११ करोड गरी केही सामानको मात्र आँकडा छुट्याएको छु, बाँकी त कति छन् कति !’

पूर्व सचिव भीम प्रसाद उपाध्यायले पनि अन्तर्राष्ट्रिय मूल्य र सरकारले खरिद गरेको मूल्यमा फरक विवरण सार्वजनिक गरेका छन् । उनले पनि सामाजिक सञ्जालमा यसबारे प्रकाश पार्दै अनियमितताको आरोप लगाएका छन् । यससम्बन्धी जानकार र पूर्व प्रशासकले समेत योजनावद्ध तरिकाले अनियमितताको खुलासा गरेपछि तरंग आएको छ । देशमा कोरोना भाइरसको रोकथामका लागि लकडाउन भइरहेको र स्वास्थ्योपचारका लागि अत्यावश्यक सामाग्री आकस्मिक रुपमा ल्याउनुपरेको अवस्थामा ठूलो अनियमितताको आशंका हुनुले जिम्मेवार अधिकारीहरु विवादमा परेका छन् ।

कोरोना लागे नलागेको परीक्षण गर्ने पीसीआर विधिको लागि आवश्यक सामाग्री ५० हजार टेष्ट गर्न करिब ४५ करोड डलर खर्च गरिएको भन्दै यसबारे जानकार सौरभ भट्टराईले लेखेका छन्, ‘एकपटक गर्ने पीसीआर टेष्टको खर्च बढीमा १० डलर पनि पर्न आउँदैन तर यहाँ एउटा टेष्टको १० डलरमा अर्थात् ९ गुना बढीमा सम्झौता भएको रहेछ । उनले लेखेका छन्, भुकम्पपछि विपत्तिमा कमाउन पल्किनेहरु फेरि महामारीमा सल्बलाउन थाले ।’

चीनमा रहेका व्यापारी नविन विकले राखेको मूल्य फरक सूची

पूर्व सचिव उपाध्यायले चीनको मूल्य र नेपालमा पर्ने मूल्यको निकै फरक आएको तुलना गर्न भन्दै लेखेका छन्, ‘चीनले नेपाललाई अनुदानमा दिएको मेडिकल सामानको रेट, नेपालले ठेकेदारबाट चीनबाट ल्याएको सामानको मूल्य सँगसँगै आज जहाजमा नेपाल आएको छ । आफै मूल्य तुलना गर्नुहोस् ।’

उपाध्यायका अनुसार अरुले सस्तोमा उही सामान उपलब्ध गराउन सक्नछन् भने उनीहरुसँग पनि खरिद गर्न सरकारलाई कसैले रोक्दैन । सरकारले किनेको मेडिकल सामानको मूल्य विश्व बजारमा प्रतिष्पर्धी नै हो भनेर जनतालाई आश्वस्त गराउनुको विकल्प छैन ।

 

सम्बन्धित् समाचार