मलेरियाविरुद्धका दुई औषधि कोरोना भाइरस संक्रमितका लागि आपतकालिन रुपमा प्रयोग गर्न मिल्ने भएको छ । अमेरिकी खाद्य तथा औषधि प्रशासन निकायले यस्तो ती औषधि कोरोनाका बिरामीलाई प्रयोग गर्न स्वीकृति दिएको हो । आइतबार विज्ञप्ति जारी गर्दै अमेरिकी स्वास्थ्य तथा मानवसेवा विभागले यस्तो जानकारी दिएको हो । विभागले क्लोरोक्वाइन र हाइड्रोक्सिक्लोरोक्वाइन सहित राष्ट्रिय भण्डारमा रहेका औषधिबारे विवरण सार्वजनिक गरेको छ ।
क्लोरोक्वाइन र हाइड्रोक्सिक्लोरोक्वाइन दुबै औषधि कोभिड १९ विरुद्ध प्रयोग हुनसक्ने बारेमा अनुसन्धान पनि भइरहेको छ । एफडिएका अनुसार ती मलेरियाका औषधिलाई चिकित्सकको अनुमनिमा अस्पतालमा भर्ना गरिएका किशोरकिशोरी र वयष्कका लागि क्लिनिकल परीक्षण सम्भव नभएको वा उपलब्ध नभएको अवस्थामा यसको प्रयोग गर्न सकिने स्वीकृति मिलेको हो ।
ट्रम्पले गत साता यी दुई औषधि ‘परमेश्वरको उपहार’ हुनसक्ने भन्दै यसका लागि स्वीकृति मिलिसकेको प्रतिक्रिया दिएका थिए ।
सरुवा रोग विशेषज्ञ एन्थोनी फौकी सहित धेरै अनुसन्धाताहरुले वृहद क्लिनिकल परीक्षण नगरेसम्म आम नागरिकलाई सतर्क रहन आग्रह गरेका छन् । अमेरिकामा कोरोना संक्रमितको संख्या १ लाख ४० हजार भन्दा धेरै पुगिसकेको छ । साथै मृत्यु हुनेको संख्या २ हजार ४ सय ८९ पुगेको छ ।