विश्व स्वास्थ्य संगठन डब्लूएचओले कोभिड १९ को महामारी नियन्त्रणका लागि तत्काल लकडाउन वा अरु प्रतिबन्ध फुकुवा नगर्न सुझाव दिएको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागि अपनाइएका लकडाउनसहितका उपाय चाँडै अन्त्य गर्दा ज्यान गुमाउनेको संख्या तिब्रगतिमा फैलिन सक्ने भन्दै डब्लूएचओले तत्काल लकडाउन वा अरु प्रतिबन्ध फुकुवा नगर्न सुझाव दिएको हो ।
डब्लूएचओका महानिर्देशक डाक्टर टेड्रोस गेब्रेससले प्रतिबन्धहरु फुकुवा वा खुकुलो बनाउँदा सङ्क्रमणको पुनरावृत्ति हुनसक्ने भएकाले सचेत बन्नुपर्नेमा जोड दिनुभयो । प्रतिबन्धका कारण आर्थिक समस्या वा संकट आउने भए पनि त्यसले मानव जीवनको रक्षा गरिरहेको उहाँको भनाइ छ ।
यो पनि पढ्नुहोस्
खाडी र मलेसियामा शुक्रबारको कोरोना अपडेट स् सङ्क्रमितको सङ्ख्या १५ हजार नाघ्यो, मलेसियाले लकडाउनको अवधि थप्यो
डब्लूएचओले विश्वका सरकारसँग अहिले चलिरहेको प्रतिबन्ध फुकुवा गर्ने वा खुकुलो पार्ने सम्बन्धमा रणनीति बनाइरहेको पनि जानकारी दिनुभयो । तर त्यसका लागि हतारो भने नगरिने उहाँले बताउनुभएको छ ।
विश्वका २ सय १० देश र दुई वटा पानी जहाजमा कोरोना फैलिँदा ज्यान गुमाउनेको संख्या १ लाख नाघिसेकेको छ । अहिलेसम्म झण्डै १७ लाख मानिसमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ३ लाख ७६ हजारभन्दा धेरै मानिस उपचारपछि निको भएका छन् ।
इटाली र अमेरिकामा मात्रै १६ हजार भन्दा धेरै मानिसको ज्यान गैसकेको छ ।