भारत र पाकिस्तानका सेनाबीच सीमा क्षेत्रमा झडप हुँदा तीन जनाको ज्यान गएको भारतले दाबी गरेको छ ।
कश्मीरको कुपवाडा जिल्लाको रिहाइशी क्षेत्रमा झडप हुँदा एक महिलासहित तीन जनाको ज्यान गएको भारतीय सेनाका प्रवक्ता कर्णेल राजेश कालियाले विज्ञप्ति निकालेर जानकारी दिएका छन् ।
भारतीय सेनाका अनुसार पाकिस्तानी सेनासँग एक हप्तासम्म नियन्त्रण रेखामा झडप भएको हो । त्यसपछि पाकिस्तानी सेनाले आइतबार रिहाइशी क्षेत्रमा मोटार आक्रमण गरेको भारतीय सेनाले दाबी गरेको छ ।
तर पाकिस्तानी सेनाले भने त्यसको खण्डन गर्दै सन् २००३ मा भएको युद्धविरामको भारतीय सेनाले उल्लङ्घन गरेको बताएको छ ।