अमेरिकामा कोरोना भाइरस अर्थात कोभिड–१९ बाट तीस हजार जनाभन्दा बढीको ज्यान गएको छ । अमेरिकाको जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार अमेरिकामा यो भाइरसको कारण मृत्यु हुनेको संख्या तीस हजार ८ सय ३२ जना पुगेको हो ।

यो तथ्यांक नेपाली समयानुसार बिहीबार बिहानसम्मको हो । त्यसैगरी अमेरिकामा अहिलेसम्म यो भाइरसबाट सङ्क्रमित हुनेहरुको संख्या पनि ६ लाख नाघेको छ । कोरोना भाइरसबाट बिहीबार बिहानसम्म सङ्क्रमित हुने ६ लाख ३७ हजार पुगेको युनिभर्सिटीको तथ्यांकमा उल्लेख गरिएको छ ।
अमेरिकामा गएको २४ घन्टामा अहिलेसम्मकै सबैभन्दा धेरै नागरिकको ज्यान गएको छ । गएको २४ घन्टायता त्यहाँ २ हजार ४ सय ९४ जनाको ज्यान गएको अन्तराष्ट्रिय समाचार संस्थाले जनाएको छ । प्राप्त समाचारअुनसार अमेरिकामा सङ्क्रमित हुनेमा सबैभन्दा धेरै प्रभावित न्युयोर्कमा छन् । त्यहाँ यो भाइरसबाट सङ्क्रमित हुनेको संख्या दुई लाख १४ हजार नाघेको छ । त्यसैगरी यो राज्यमा मात्र अहिलेसम्म १४ हजार ६४ जनाको मृत्यु भइसकेको जनाइएको छ ।
गएको डिसेम्बर महिनाको अन्त्यतिरबाट चीनको उहानबाट निस्किएको कोरोना भाइरसको कारण अहिलेसम्म विश्वमा १ लाख ३६ हजारभन्दा धेरै मानिसको ज्यान गईसकेको छ भने २० लाख ६३ हजारभन्दा धेरै मानिस सङ्क्रमित भइसकेका छन् ।









