एजेन्सी, बैशाख १६ । अमेरिकामा कोरोना भाइरसविरुद्ध अग्रपंक्तिमा रहेर सेवारत एक वरिष्ठ चिकित्सकले नै आत्महत्या गरेकी छिन् ।
कोरोना महामारीको इपिसेन्टर बनेको न्यूयोर्कमा फ्रन्टलाइनमा काम गर्ने म्यानहटनस्थित न्यूयोर्क–प्रेस्बिटेरियन एलन हस्पिटलको आकस्मिक विभागकी मेडिकल डिरेक्टर डा. लोर्ना ब्रीनले आइतबार आत्महत्या गरेकी हुन् ।
प्रहरीका अनुसार उनले आफैँलाई चोटग्रस्त बनाएर आत्महत्या गरेकी हुन् । ४९ वर्षीया डा. ब्रीनका पिता डा. फिलिप ब्रीनले उनले आफ्नो काम निरन्तर गर्न खोजेको र त्यसैले उनलाई लगेको न्यूयोर्क टाइम्सलाई बताएका छन् । उनका बाबुले छोरीमा मानसिक रोग नरहेको भन्दै परिवारसँगै रहेका बेला आत्महत्या गरेको जानकारी दिए ।
पछिल्लोपटक आफूसँग कुरा हुँदा छोरी निराश देखिएकी र कोभिड–१९ का बिरामीहरु एम्बुलेन्सबाट निकाल्न नपाउँदै कसरी मरिरहेका छन् भन्ने बताएकी बाबु फिलिपले जानकारी दिए ।
कोरोना भाइरसविरुद्ध खटिएकै बेला उनी संक्रमित भए पनि डेढ हप्ताअघि स्वास्थ्यलाभ गरेर फेरि काममा फर्किएकी थिइन् । तर अस्पतालले उनलाई फेरि घर फर्काएको थियो ।
न्यूयोर्कमा मात्र १७ हजारभन्दा बढीको ज्यान लिएको कोरोनाले अमेरिकाभरमा साढे ५६ हजारभन्दा बढीलाई मृत्युको मुखमा लगिसकेको छ ।