गृहपृष्ठ कृषि सैनामैनाका किसानलाई अनुदानमा मिनिटेलर

सैनामैनाका किसानलाई अनुदानमा मिनिटेलर

 

सैनामैना नगरपालिकाले कृषि क्षेत्रलाई विशेष प्रथामिकता दिएको छ । नगरको कृषि शाखाले किसानहरुका लागि विभिन्न समयमा बिभिन्न उपकरण र मौसम अनुसारका खाद्यन्न बाली, हिउँदेबाली, तरकारी लगायतका बीउ बिजनहरु वितरण गर्ने गरेको छ । जसअन्तर्गत शाखाले आज नगर भित्रका किसानहरुलाई १२ थान मिनिटेलर र हलो ५० प्रतिशत अनुदानमा वितरण गरिएको छ ।

सैनामैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्र्कीले नगरमा कृषि क्षेत्रलाई विशेष प्रथामिकता दिदँै आएको बताउँदै कृषकहरुलाई प्रोत्साहन स्वरुप समय समयमा अनुदानमा कृषि उपकरण र मौसम अनुसारको बीउ वितरण गरिएको बताउनभयो । नगर प्रमुख कार्कीले आफुले प्राप्त गरेको उपकरणको उपयोग गरी लाभ लिन कृषकलाई आग्रह गर्नुभयो ।

बन्दाबन्दीको समयमा पनि किसानको खेती कार्य सुचारु र सहज होस भन्ने उद्धेश्यले ५० प्रतिशत अनुदानमा मिनिटेलर बितरण गरिएको सैनामैनाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताउनुभयो ।

नगरको बार्षिक स्वीकृत कार्यक्रम अनुसार करिब १५ लाखको बजेटमा १२ जना किसानहरुलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण बितरण गरिएको सैनामैनाका कृषि शाखा प्रमुख सिर्जना सुबेदी भनाइ छ । प्रमुख सुबेदीका अनुसार सैनामैनामा जेठको पहिलो साता धानको बीउ बितरण गर्ने कार्यक्रम समेत रहेको छ ।

अनुदानमा कृषि उपकरण पाए पछि समयमै खेती लगाउन सकिने भन्दै सैनामैना ५ का कृषक थागे थारुले खुसी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो – “समयमै जोताउन नपाउदा उत्पादनमा असर पर्ने सम्भावना थियो । अब यो समस्या टरेको छ ।” आफसंग यन्त्र भएपछि कम खर्चमै कृषिबाट मनग्य फाइदा लिन सकिने सैनामैना २ अर्का कृषक मिन प्रसाद भण्डारीले बताउनुभयो ।

सम्बन्धित् समाचार