गृहपृष्ठ खबर लकडाउनकै समयमा भैरहवा भन्सारबाट ११ करोड बढीको औषधि आयात

लकडाउनकै समयमा भैरहवा भन्सारबाट ११ करोड बढीको औषधि आयात

बन्दाबन्दीपछि भैरहवा भन्सार कार्यालय, रुपन्देहीबाट रु. ११ करोड १६ लाख ६० हजार ४१३ बराबरको औषधिजन्य सामग्री आयात भएको छ । भारतबाट आयात गरिएका औषधिजन्य सामग्रीमा तयारी अवस्थाको औषधि र औषधिको कच्चा पदार्थ रहेको भैरहवा भन्सार कार्यालय रुपन्देहीका प्रमुख भन्सार अधिकृत कमल कुमार भट्टराईले जानकारी दिए ।

उक्त कार्यालयका अनुसार गत चैत ११ गतेपछि बन्दाबन्दीको ४६ दिनमा ६० लाख ७ हजार ८२७ किलोग्राम बराबरको औषधिजन्य सामग्री आयात भएको छ । बन्दाबन्दीपछि ज्वरो आउँदा प्रयोगमा ल्याइने सिटामोलदेखि लाइफ सेभिङ ड्रग आयात भएका छन् । तिनमा आयुर्वेदिक औषधि, सर्जिकलका सामग्री, आँखाका औषधि, स्लाइन, प्रेसर, एन्टिबायोटिक इन्जेक्सन रहेको भैरहवा भन्सार कार्यालय रुपन्देहीका सूचना अधिकारी पूर्ण लम्सालले बताए ।

आर्थिक वर्ष २०७५र०७६ मा सो भन्सार कार्यालयबाट औषधिजन्य रु दुई अर्ब २७ करोड ६१ लाख ८४ हजार ८११ बराबरको सामग्री आयात भएको थियो । सो अवधिमा भारतबाट भैरहवा भन्सार कार्यालय हुँदै एलपी ग्यास, डिजेल, पेट्रोल, खाद्यान्न, तेलहन तथा तेल, आलुप्याज, तरकारी तथा फलफूल र अन्य गरी सात हजार ५२१ मालवाहक ट्रक तथा कन्टेनर नेपाल प्रवेश गरेका छन् ।

बन्दाबन्दीको ४६ दिनका अवधिमा रु सात करोड ६८ लाख ५३ हजार मूल्य बराबरको सरसफाइमा प्रयोग हुने सामग्री ४७३ मेट्रिक टन भारतबाट नेपाल आयात भएको भन्सार कार्यालयको अभिलेखले बताउँछ । तरकारी तथा फलफूल रु ८९ करोड ६९ लाख एक हजार बराबरको २८ हजार ८५ मेट्रिक टन सामान बोकेर कन्टेनर बन्दाबन्दी समयमा भैरहवा भन्सार कार्यालय हुदै नेपाल प्रवेश गरेका छन् ।

बढ्दो अपराध
बन्दाबन्दीपछि रुपन्देही प्रहरीमा अपराधसम्बन्धी ८३ उजूरी दर्ता भएका छन् । जबर्जस्ती करणीका १० उजूरी परेका छन् । तिनमा तीन महिला र बालिकासहित सात पीडित छन् । बालयौन दुरुपयोगसम्बन्धी दुई उजूरी छन् ।
बालक र वृद्ध दुईदुई तथा महिला र पुरुष एकएक गरी ६ भवितव्य ज्यानसम्बन्धी उजूरी प्रहरीमा परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । कर्तव्य ज्यान र विषादी सेवन एकएक, आत्महत्या प्रयास ६, मानिस हराएको १४, फुटकर ज्यान तीन ९अचानक मृत्यु ०, घरेलु हिंसा चार र छिमेकी हिंसासम्बन्धी सात उजूरी परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक खड्ग खत्रीले जानकारी दिए ।

जिल्लामा सबैभन्दा धेरै आत्महत्याका घटना भएका छन् । आत्महत्याबाट २८ को ज्यान गएको छ । बन्दाबन्दी भएको ४७ दिनका अवधिमा १२ महिला, ६ बालिका, पाँच बालक, चार वृद्ध र एक पुरुषले आत्महत्या गरेको प्रहरी नायब उपरीक्षक खत्रीले बताए । धेरैजसो आत्महत्या हुनाको कारण मानसिक तनाव, कमजोर आर्थिक अवस्था र अवैध यौन सम्बन्ध भएको उनले बताए ।

महिलामा भने घरायसी कारणले बढी आत्महत्या हुने गरेको पाइएको छ । जिल्लामा चोरी तस्करीका घटना र सार्वजनिक अपराध भने शून्य छ । आर्थिक वर्ष २०७५÷०७६ मा रुपन्देही प्रहरीले एक हजार ८३७ मुद्दा सरकारी वकिलको कार्यालयमा दर्ता गरेको छ ।

सम्बन्धित् समाचार