गृहपृष्ठ खबर लकडाउनले झापामा अड्किएका पूर्वराजा ज्ञानेन्द्रको सवारी पास रद्द, गृहले नयाँ उपलव्ध गराएन्

लकडाउनले झापामा अड्किएका पूर्वराजा ज्ञानेन्द्रको सवारी पास रद्द, गृहले नयाँ उपलव्ध गराएन्

लकडाउनका कारण झापामा अड्किएका पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानीलाई जिल्ला प्रशासन कार्यालयले आज काठमाडौं आउने पास दिएर आजै रद्ध गरेको छ । गृह मन्त्रालयले निर्देशनपछि प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले पास रद्द गरेका हुन् ।

निजी भ्रमणमा झापा पुगेका पूर्व राजदम्पत्ति लकडाउन सुरु भएपछि त्यहीँ रोकिएका थिए । लकडाउन लम्बिँदै गएपछि उनीहरु काठमाडौं आउन चाहेका हुन् । पूर्वराजाका सहयोगीले इमेलमार्फत अनुमतिपत्रका लागि निवेदन दिएपछि जिप्रकाले तत्काल उपलब्ध गराएको थियो । तर, फेरि गृहमन्त्रालले प्रक्रिया नपुगेको भनेपछि त्यसलाई रद्द गरिएको प्रजिअ रानामगरले  बताए ।

‘सहमति लिएर मात्रै पास दिनुपर्ने थियो, हामीले सुरुमा नलिई दियौं,’ उनले भने, ‘अहिले फेरि सहमतिका लागि प्रक्रिया अगाडि बढाएका छौं ।’

गृहले सहमति दिनासाथ तुरुन्तै ई–पास उपलब्ध गराउने रानामगरले बताए । पास उपलब्ध भएमा पूर्वराजा रानीले शुक्रबार काठमाडौं फर्किन चाहेका छन् । उनीहरुका साथमा पूर्वराजाका संवाद सचिव फणिराज पाठकका अनुसार पूर्वराजा रानी निजी प्रयोजनमा गत चैत २ गते झापा गएका थिए ।

चैत ११ गतेदेखि सरकारले लकडाउन गरेपछि उनीहरु फर्किन सकेनन् । उनीहरुका साथमा पूर्वाराजाका निजी सचिव सागर तिमल्सिना पनि छन् । झापामा पूर्वराजपरिवारको चियावगान छ । अहिले उनीहरु त्यहीँ रहेको घरभित्र बसिरहेका छन् ।

पूर्व राजारानी लकडाउनको पूर्ण पालना गरेर बसिरहेको संवाद सचिव पाठकले बताए । पूर्व युवराज्ञी हिमानी भने आफ्ना छोराछोरीहरुसहित बैंककमा छिन् ।

सम्बन्धित् समाचार