कपिलवस्तु ,जेठ- २ /
कपिलवस्तुमा शुक्रवार ७ सञ्चारकर्मीसहित थप २ सय ६५ जनाको स्वाब सङ्कलन गरिएको छ । जिल्लाका विभिन्न स्थानमा स्वाब सङ्कलन गरी प्रदेश नम्बर ५ को भैरहवा स्थित जन स्वास्थ्य प्रयोगशाला पठाईएको हो । कपिलवस्तु अस्पतालमा १ सय १० , महाराजगंजमा १ सय ५ र बिजयनगरमा ५० जनाको स्वाब सङ्कलन गरिएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले बताए ।
रिपोटिङका क्रममा जोखिममा परेका ७ जना पत्रकारले महाराजगंज नगरपालिका– ८ सिसवा स्वास्थ्य चौकीमा पिसिआर टेस्टका लागि स्वाब दिएको पत्रकार महासंघका जिल्ला अध्यक्ष डिलाराम भुसालले बताए । पत्रकार महासंघले जिल्ला स्वास्थ्य कार्यालय र प्रशासन कार्यालयलाई पिसिआर टेस्टका लागि माग गरेको थियो । राजमार्ग क्षेत्रका २, तौलिहवाका २ र कृष्णनगर क्षेत्रका ३ जना पत्रकारको स्वाब सङ्कलन गरिएको हो । यस्तै ४ दिन अघि कपिलवस्तु अस्पतालमा कार्यरत एक नर्स कोरोना सक्रमित भेटिएपछि शुक्रवार अस्पतालका स्टाफ, प्रहरी, नर्सका परिवार गरी कुल १ सय ५ जनाको स्वाब सङ्कलन गरिएको फोकल पर्सन थापाले बताए । बिहीवार मात्र अस्पतालका मेसु र संक्रमति नर्स सहित ७ जनाको स्वाब सङ्कलन गरिएको थियो । यस्तै बिजयनगर गाउपालिकाका क्वारेन्टाईनमा रहेका ५० जनाको समेत शुक्रवार स्वाब सङ्कलन गरिएको छ । भारतको बिभिन्न शहरबाट फर्केर क्वारेन्टाईनमा ७ दिन बिताएकाहरुको स्वाब सङ्कलन गरिएको हो ।
हालसम्म कुल ९ सय ३४ जनाको स्बाव सङ्कलन गरिएको छ । पुरानो ६ सय ६९ मध्ये अब २८ जनको मात्र रिपाेर्ट आउन बाँकी छ । शुक्रवार साझसम्म जिल्लामा ४० जना संक्रमति भेटिएका छन । जसमध्ये ३३ जना भारतका बिभिन्न शहरबाट फर्केकाहरु हुन् । यस्तै चार सुरक्षाकर्मी, एक नर्स, २ कर्मचारी र एक ६ वर्षिया बालिका छन । शुक्रवारसम्म पिसिआर टेस्टको स्वाब सङ्कलनका लागि १ हजार २७० भिटिएम कीट प्राप्त भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेन्द्र भगतले बताए ।