दाङ ,२ ,जेठ / बाँकेमा शुक्रवार कोरोना पुष्टि भएका संक्रमितहरुलाई दाङ ल्याईदै छ । उनीहरुलाई दाङको बेलझुण्डिमा रहेको कोरोना विशेष अस्पतालमा राखिने भएको छ ।
बाँकेको नरैनापुर गाउँपालिकामा रहेका ८ जना संक्रमितलाई लिएर दाङको लागि एम्बुलेन्स हिडी सकेको नरैनापुर गाउँपालिका अध्यक्ष ईस्तियाक अहमद शाहले जानकारी दिए । रोजगारीको लागि भारत गएका संक्रमितहरु १२ दिन पहिले भारतबाट लखेटिएर नरैनापुर गाउँपालिकाको वडा नं. १ कटकुइँयास्थित दशगजामा अलपत्र परेका थिए ।
अलपत्र परेका २१ जनालाई क्वारेटाईनमा राखिएको थियो जसमध्ये ८ जनाको रिपोर्ट पोजेटिभ आएको हो । संक्रमित सबै नरैनापुर गाउँपालिकाका बासिन्दा हुन् । संक्रमित हुनेमा १८ देखि ३६ बर्ष उमेर समुहका पुरुष रहेको गाउँपालिका अध्यक्ष शाहले जानकारी दिए । कोरोना संक्रमितहरुलाई स्वास्थ्यकर्मी सुरक्षाकर्मीको निगरानीमा ल्याईदै छ ।