नयाँदिल्ली : खुला सडकमा साइक्लिङ गर्नु धेरैका लागि सोखको कुरा होला । भारतीय एक साहसी बालिकाको लागि बाध्यता बनेको छ । ज्योती कुमारी पासवान नामकी १५ वर्षीया बालिकाको साइकल यात्राको कहानी साहसी त छ नै, हृदयविदारक पनि छ ।
भारतमा कोरोनाभाइरस नियन्त्रणका लागि लगाइएको लकडाउनका बीच ती बिहारी बालिकाले १२ सय किलोमिटरको यात्रा साइकलमा गरिन् । त्यो पनि पछाडिको सिटमा आफ्नो बाबुलाई राखेर । जुन काम कुनै व्यवसायीक खेलाडीका लागि पनि कठिन हुनसक्छ ।
यही साता उनी हरियाणाको गुरुग्रामबाट बिरामी बाबु मोहन पासवानलाई साइकलको पछिल्लो सिटमा बोकेर बिहारको दरभंगासम्म पुगेकी हुन् । हाल बाबुछोरी आफ्नै गाउँ सिरहुल्लीस्थित स्वास्थ्य निगरानीका लागि क्वारेन्टाइनमा बसिरहेका छन् ।
ज्योतीका बाबु मोहन केही महिनाअघि सवारी दुर्घटनामा घाइते भएका थिए । उनी पेशाले रिक्सा चालक हुन् । मोहनका अनुसार उनलाई घरबेटीले केही महिनाअघि नै भाडा तिर्ने वा घर छाड्ने भनेर दबाब दिएका थिए ।
‘तर मैले लकडाउन खुलेपछि जेसुकै काम गरेर भए पनि भाडा तिर्ने बचन दिएपछि केही समय घरबेटीले मलाई दिए । मलाई यस्तो दबाब भयो कि, औषधि नै रोक्नु पर्ने भयो । दिनमा एक छाक मात्रै खाना खानुपर्ने भयो । यस्तो अवस्थामा कसरी भाडा तिर्न सम्भव थियो र ?’ मोहनले भने । उता सरकारले पनि लकडाउन थप्दैगयो । उनका लागि भने घरबेटीले थप च्याप्न थाल्यो ।
यसबेला मोहनलाई गुरुग्राममा रेखदेख गर्ने उनकी छोरी ज्योती थिइन् । जब कि, ज्योतीकी आमा गाउँमै अरु चार सन्तानलाई सम्हालेर बसिरहेकी थिइन् । जहाँ उनी अरुकहाँ सरसफाइ गर्ने काम गर्छिन् ।
बिरामी बाबुको हालत देखेर ज्योतीले घर फर्कन आग्रह गरिन् । तर बस वा रेल केही थिएन । अन्य सवारीसाधन पनि तत्काल उपलब्ध हुने कुनै संकेत थिएन । हिँडेर जानु त असम्भव जस्तै थियो ।
यस्तैमा ज्योतीले बाबुलाई आफ्नो साइकलमा जान आग्रह गरिन् । मोहन कुनै हालतमा साइकलमा चढेर जान तयार थिएनन् । छोरीको ‘क्रेजी आइडिया’लाई उनले ठाडै अस्वीकार गरे ।त्यसो त, यो कुनै १०/२० मिटरको यात्रा थिएन । १ सय मिटरसम्म पनि थिएन । पूरा १२ सय किलोमिटरको यात्रा अन्ततः उनै १५ वर्षीया बालिकाले बिरामी बाबुलाई पछाडिको क्यारियरमा बस्न लगाएर यात्रा सुरु गरिन् ।