मेरी प्रेमीकासँगको सम्बन्ध अब विवाहमा परिणत गर्छु भन्दै २०७७/०२/१० गते करिव १२-१ बजेको बिचमा साथीहरुसङै म उनको घरजाने निर्णय गरेँ।३ वर्ष देखिको हाम्रो प्रेम असफल होस् भन्ने न मेरो कामना थियो न त उनको नै।मेरो प्रेमीकाले मेरो विवाह अर्कैसँग गरिदिन लागेका छन् तर म अरुसँग जान सक्दैन तिमी मलाई लिन आऊ भनेकी थिइन्।जसको लागि मैले पटक पटक धम्की खाइरहे एक दिन जेल बसेँ । उसलाई अरुसँग जा भन्न न त मलाई संस्कारले दिन्छ न त मेरो प्रेमले नै।

म पुलिसमा भर्ती हुन लागेको थिए । अन्तर्वार्ता बाहेक अरु सबै पास पनि गरेको थिएँ । जागिर खाएर उनको उमेर पुगेपछि भव्य विवाह गर्ने हाम्रो सपना ,कारणबस परिस्थितिले परिवर्तन हुन पुग्यो।भव्य विवाह गर्ने र हासीखुसी जीवन बिताउने परिकल्पना सधैँ जसो हामी फोनमा कुरा गर्दा बुनिरहन्थ्यौँ।उनले मलाई मेरो अर्कै संग विवाह गर्ने कुरो चलेको छ लिन आउनु भनेपछि नै मैले ३-४ दिन अगाडि केटाहरुलाई १० गते बेहुली लिन जानुपर्छ भनेको थिएँ।
आमाले प्रत्येक दिन मलाई उनीहरु ठूला मान्छे हुन् छोरा तिमीहरुको सम्बन्ध असम्भव छ हामी हाम्रो थरमा विश्वकर्मा लेख्छौँ त्यो सपना देख्न छाड्दे भन्दै सम्झाउथिन्।उनी मेरो घरमा आएर बस्दा पनि मेरी आमा निकै डराएको कुरा म एक्लै हुँदा बताउँथिन्।आमाले पहिला जेल पर्दा त बचाएँ अब तँलाइ केही भयो भने म के गर्ने भन्थिन्।आमाका त्यस्तै कुरा सुनेर अहिले पनि मलाई जान दिदैनिन् भन्ने कुरा मैले बुझेको थिएँ।त्यही भएर मैले आमा काफल खाएर आउँछु भन्दै घरबाट निस्केको थिएँ।अनि माथिबाट १० जना र बाटामा जादा जाँदै थप ९ जना गरि हामी १९ जना भएर केटीको घरतर्फ लाग्यौं।
मेले प्रेमीकासंग फोन संवाद गर्दा ५ बजे लिन आउनु भनेकी थिइन् त्यही अनुसार हामी पनि हिडेका थियौं।करिब साडे ४ बजे आमाले आफ्नो मोबाइल बाट फोन गर्दा लागेन्छ र डराउदै महेन्द्र काकाको बाट फोन गरिन अनि आत्तिदै सोधिन,”छोरा,कहाँ छस्?”अनि मैले भने आमा म काफल खान केटाहरुसंग आएको छु भनेर आमाले कहाँ भनेर सोध्न नपाउदै फोन काटिदिएँ।करीब ५ बजे हामी उनको घरभन्दा तलको बाटो घरबाट करिव ३०० मि तल पुगेका थियौं।
केटाहरु तयार थिए म पनि उनको पर्खाइमा थिएँ।केटाहरु बेहुली आएपछि भागी हाल्न पर्छ भनेर कुरा गरिरहेका थिएँ म भने उनको घरतिरको बाटोमा मात्र नजर लगाइरहेको थिएँ।उनी निस्किन नपाउदै उनको आमा घरबाट निस्किइन र मलाई देख्दा बित्तिकै चिच्याउदै अपशब्द प्रयोग गर्दै गाली गर्न लागिन,”यो डुम फेरि आयो अस्तिको पिटाइले पुगेनछ,अब हात खुट्टा भाचिदिने हो।”मेरा साथीहरुले हामी काफल खान आएको हो तपाइँलाई केही भनेका छैनौं चुप लाग्नुस् भनेर उनको आमाको गाली नसुनेझै गर्दै तलतिर लाग्यौं।केही तल पुगेपछी एउटा दाजुले आफ्नो घरमा हामीलाई बोलाएर पानी दिदै सोध्न लागे,”तिमीहरु यहाँ के गर्न आएको?”मेरा साथीहरु काफल खान भन्ने जवाफ दिदै सबै त्यहाँबाट निस्कियौँ।
ती दाजु केही बेर सम्म हाम्रै पछाडी लागेका थिए।म अझै पनि मेरी प्रमिका आएकी होलिन भन्दै मनमा अनेक कुरा सोच्न लागेँ।यो चोटि लगिएन भने उनी मेरो हुँदैनिन भन्ने सोच पनि मेरो मनमा पलाएको थियो।तर साथीहरु भने पछि आउँला धेरै रात भयो बेहुली आइनन् घर जाउँ भन्दै घरतिर जाने योजना बनाए।म पनि उनीहरुसँगै घरतिर जाँदै थिए।हामी भेरी खोलाको नजिक पुगिसकेका थियौँ अचानक चारैतिरबाट हामीमाथि ढुङ्गा मुडा बर्सिन लागे।हामी डरायौ भाग्न खोज्दा जताजतै मान्छेले हामीलाई घेरिसकेका थिए बच्ने बाटो मात्र भेरी खोला थियो।करिब ३०० मानिस वरपर देखिसकेपछि हामी आत्तियौँ भाग्न विवश भयौं त्यो पनि कसैको हातमा हँसिया, दाउरा, ढुङ्गा, बन्चरो।भग्दा भाग्दै हामीलाई चोट लागेपछि हामी ६ जना अल्लि पछाडि पर्यौँ।भेरीमा हाम फालेका केही साथीहरुलाई पनि थुती थुती पिटियो अझ हामी त यता नै थियौं ।सबै मिलेर पिट्दा हामीले हाम्लाइ नपिट्नु हामी अब कहिल्यै आउदैनौ यो चोटीलाई छोडिदिनु भन्दा पनि हजारौं पटक हारगुहार गर्दा पनि सुन्ने कोहि भएन बचाउने कोहि भएन।
धेरै पिटाइ खाइसकेपछि मेरी आमाको तस्बिर मेरो अगाडि आयो म घरको एक्लो छोरा भएर होला असाध्यै प्रिय थिएँ घरमा।मेरो शरीरले काम गर्न छोडिसकेको थियो १३ जना साथीहरु पिटाइ खादाँ खादै पनि बचे तर म संगै ६ जना पिटाइ खाएर सिकिस्त भएपछि भेरी नदिमा फालिदिए।हाम्रो शरीरले अब अन्तिम घण्टाको सास महसुस गरिरहेको थियो।अन्तत:हामी धेरै बेर बाच्न प्रयास गर्न सकेनौं मृत्युको चपेटामा पर्यौँ।मेरो कानमा मात्र म संग काफल खान्छु भन्दै झुट बोलेर बेहुली लिन गएको मेरो छोरो लास बनेर आयो भन्ने कुरा मात्र सुनिएको थियो।
मेरो मृत्यु संगै खरानी बन्यो मेरो सपना मेरो प्रेम अनि उनीसंगै जिउने हजारौं सपनाहरु।७ जन्म सम्म संगै जिउने प्रतीज्ञा ३ वर्षमै टुङ्गिन लेखेको रहेछ।आखिर मेरो गल्ती के मलाई मार्नु पर्ने?प्रेम त गरेको थिएँ।प्रेम गर्नु न गल्ती हो न कानुन विपरीत किन सधै साचो प्रेम बुझिदैन?कहिले सम्म प्रेम गर्ने जोडि मर्नुपर्नेछ?प्रेम गर्ने वातावरण कहिले सृजना हुन्छ?यो संगै यावत प्रश्ननको उत्तरको पर्खाइमा छु म।छोरीलाई बचाउनु नै भए पुलिसलाई जिम्मा लगाएको भए हुने मेरो हत्या किन गरियो?
मेरो गल्ती के?मेरो गल्ती के?
“प्रेम आशा हो भरोसा हो विश्वास हो अस्तित्वको सिद्धान्त हो,हामी सबै प्रेमको लागि जन्मेको हो।”
नवराज बिकको अधुरो प्रेम कहानी
सरोज घिमिरे








