संसद्अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले क्वारेन्टाइनमा बसेकाको १४ दिनभित्र पिसिआर परीक्षण गरिसक्न सरकारलाई निर्देशन दिएको छ ।
मंगलबार बसेको समितिको बैठकले कुनै पनि व्यक्ति क्वारेन्टाइनमा बसेको १४ दिनभित्र पिसिआर परीक्षण गरिसक्न निर्देशन दिएको हो । समितिका सभापति विमलप्रसाद श्रीवास्तवले विदेशबाट आउने महिला, गर्भवती, ज्येष्ठ नागरिकलगायतको निःशुल्क परीक्षणको व्यवस्था गर्न पनि निर्देशन दिएका छन् । समितिले रोजगारी गुमाएर विदेशबाट आउने नागरिकको व्यवस्थापन गर्दै स्वदेश आउनैपर्ने अवस्थामा रहेकाहरूलाई तत्काल ल्याउन पनि निर्देशन दिएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले तत्काल नेपाल फर्किन चाहनेहरूको आधिकारिक तथ्यांक संकलन भइरहेको बताए । विभिन्न प्राथमिकताका क्षेत्र तोकेर दूतावासहरूलाई तथ्यांक संकलनका लागि निर्देशन दिइएको उनले जानकारी दिए ।
कोभिड– १९ संक्रमणको असर वैदेशिक रोजगारीमा गएका नेपालीमा पनि परेको छ । त्यस्तै, अध्ययन तथा अन्य सिलसिलामा विदेश गएका नागरिक पनि लकडाउनका कारण उतै रोकिएका छन् । सरकारले आफ्ना नागरिक स्वदेश फर्काउने तयारी गरिरहेको छ ।