काठमाडौं- लकडाउन सुरु भएयता मुलुकका प्रमुख ७ भन्सार हुँदै ५० हजार मालबाहक सवारी साधन नेपाल भित्रिएका छन्।भारततर्फ सीमा जोडिएका ती भन्सार कार्यालय हुँदै चैत ११ गतेदेखि जेठ २५ गतेसम्ममा ती सवारी साधन नेपाल भित्रिएका भन्सार विभागले जनाएको छ।विभागका अनुसार यो अवधिमा सबैभन्दा धेरै वीरगञ्ज हुँदै १८ हजार ६८६ सवारी साधन नेपाल भित्रिएका छन्।
यसैगरी भैरहवाबाट १२ हजार ३२९, विराटनगरबाट ९ हजार ५१७, नेपालगञ्जबाट ४ हजार ४३, कृष्णनगरबाट ३ हजार ३२८, मेचीबाट १ हजार ८८२ र जलेश्वरबाट ६५८ वटा मालबाहक सवारी साधन नेपाल भित्रिएका हुन्।
सरकारले लकडाउन घोषणा गर्दा नै यात्रु आवागमन बन्द गरे पनि वस्तु ढुवानीमा कुनै अवरोध नहुने जनाएको थियो। लकडाउन घोषणा भएको सुरुका दिनमा सवारी साधन आवागमन कम भए पनि पछिल्ला दिनमा सामान्य अवस्थाको ६० प्रतिशतको हाराहारीमा सवारी साधन आइरहेको विभागले जनाएको छ।
‘लकडाउन सुरु भएको पहिलो हपता दैनिक ५०/६० करोड रूपैयाँको हाराहारीमा रहेको वैदेशिक व्यापार अहिले ३ अर्ब रूपैयाँमा पुगेको छ,’ भन्सार विभागका महानिर्देशक सुमन दाहालले भने, ‘सामान्य अवस्थामा दैनिक ५ अर्बको वैदेशिक व्यापार हुने गरेकोमा अहिले त्यसको ६० प्रतिशत हुन थालेको छ।’
वस्तु व्यापारमा वृद्धि हुन थालेसँगै राजस्व संकलन पनि बढ्न थालेको छ। सुरुका दिनमा दैनिक २० करोड रूपैयाँसम्म राजस्व संकलन हुने गरेकोमा अहिले ६० करोड रूपैयाँ हाराहारीमा राजस्व संकलन हुने गरेको दाहालले बताए। ‘राजस्व संकलन पनि सामान्य अवस्थाको ६० प्रतिशत हाराहारीमा हुन थालेको छ,’ दाहाले भने।
वैदिशक व्यापारमा सहजता आउन थालेसँगै आन्तरिक बजारमा पनि वस्तु ओसारपसार बढेको छ। राजस्व अनुसन्धान विभागबाट सञ्चालन हुने भेइकल एन्ड कन्साइन्मेन्ट ट्रयाकिङ सिस्टम (भिसिटिएस)मा सवारी साधन प्रविष्ट गराउनेको संख्या बढेको छ।
विभागका महानिर्देशक दीर्घराज मैनालीले प्रणालीमा प्रविष्ट गर्ने सवारी साधनको संख्या बढेकाले त्यसको आधारमा बजारमा चहलपहल सुरु भएको भन्न सकिने बताए। ‘सुरुमा अत्यावश्यक वस्तु मात्रै ओसारपसार हुने गरेकोमा अहिले अन्य सवारी साधन पनि चल्न थालेका छन्,’ उनले भने।
वस्तु ओसारपसार गर्दा भिसिटिएस प्रणालीमा विवरण प्रविष्ट गराउनुपर्ने व्यवस्था छ। त्यसैबाट राजस्व अनुसन्धान विभागले बजारको निगरानी गर्दछ।










