वाणगंगाका व्यापारीलाई घरधनीले लकडाउनकै बीचमा फोन गरेर वा प्रत्यक्ष रुपमा भेटेर घरभाडा मागेको पाईएको छ । पसल खुल्न थालेपछि व्यापारीले पसल खोल्नुभन्दा पहिले नै आएर घरधनीहरुले भाडा माग्न थालेका छन् ।
व्यापारीहरुले लकडाउन अवधिभर पसल बन्द गरेर बसेका थिए । लकडाउनमा पसल बन्द गरेका व्यापरीहरुलाई घरधनीले फोन गरेर घरभाडा माग्ने गरेका छन् । तर, लकडाउनका कारण हातमुख जोर्नै समस्या भएपछि केही दिनयता व्यापारीहरुले पसल खोल्न थालेका छन् । लामो समयदेखि व्यापार बन्द भएपछि आफूहरु भोकै हुने अवस्था आएको व्यापारीहरु बताउछन् । लकडाउनभर पनि व्यापारीहरु पसलको भाडा कसरी तिर्ने भन्ने चिन्तामा परिरहेका थिए । व्यापार खोल्नुको बिकल्प नभएको भन्दै व्यापारीहरुले विस्तारै पसलहरु खोल्न सुरु गरका हुन् । तर पसल खोल्न आउदा भाडा माग्न घरधनी आएकाले पसलेहरु पसल नै छाड्ने अवस्थामा पुगिसकेको व्यापारीहरु बताउछन् ।
धेरै पसलेहरु पसल खोले पनि घरधनीले भाडा माग्ने, व्यापार नहुने, कोरोनाबाट कसरी बचेर व्यापार गर्ने भनेर चिन्तामा रहेको उनीहरुको भनाइ छ । ‘पहिले घरभाडा तिर, अनि मात्रै पसल खोल भनेर घरधनीले भनिरहेका छन्, व्यापार भएर कमाएको पैसा पनि लकडाउनको समयमा बसेर खादा सकिएको छ, व्यापारीहरु नै भोकै हुने अवस्थामा आइसकेका छन्, यो बेला घरधनीलाई भाडा दिन सकिने अवस्था नै छैन’, एक व्यापारीले भने ।
धेरै व्यापारीहरुलाई घरधनीहरुले पहिले भाडा तिर, अनि मात्रै पसल खोल भनेर भनेकाले अब के गर्ने भनेर आफूलाई फोन गर्ने गरेका उनले सुनाए ।
सबै घरधनीलाई सम्झाउन सकिने अवस्था नरहेको भन्दै व्यापारीहरुले यस्तो बेलामा पनि संघीय सरकार, प्रदेश सरकार वा स्थानीय तहले समस्या समाधानको लागि कुनै पहल नगरेको गुनासो बताए ।
‘लामो समयदेखि व्यापारमा लागेका साथीहरुले अब यो क्षेत्रमा आफ्नो भविष्य देख्न छोडिसके, अब कहाँ जाने, के गर्ने भनेर चिन्ता थपिएको छ, बैंक ऋणको व्याज, सरकारलाई कर, कर्मचारीलाई तलब घरधनीलाई घरभाडाको नै सबै भन्दा ठूलो समस्या भएको छ,’ भन्दे उनीहरुले गुनासो गरे ।