नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले कार्यतालिका परिमार्जन गरि फागुनको पहिलो साता १४ औँ महाधिवेशन निर्णय गरेको छ । कोरोना महामारीका कारण तीन महिना ठप्प भएको महाधिवेशनको कार्यक्रम असार २५ गतेबाट सुरु गर्ने र केन्द्रीय महाधिवेशन यसअघि तोकिएकै मितिमा गर्ने बैठकले निर्णय लिएको हो ।
असार १६ गतेदेखि जारी केन्द्रीय कार्यसमिति बैठकले सोमबार उक्त निर्णय लिएको हो । बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले पदाधिकारी बैठकमा परिमार्जित तालिका प्रस्तुत गरेका थिए । पदाधिकारी बैठकले पारित गरेर अनुमोदनका लागि केन्द्रीय समितिलाई जिम्मेवारी दिएको थियो ।
सोही प्रस्ताव १६ गतेको केन्द्रीय समिति बैठकमा महामन्त्री खड्काले प्रस्तुत गरेका थिए ।बैठकले समायोजनको काम साउन १० गते भित्र सक्ने निर्णय गरेको छ। प्रस्तुत कार्यातालिकामा असार मसान्तभित्र पार्टी संमायोजन सक्ने भनिएको थियो ।
त्यसमा केही संशोधन गरी साउन १० गतेसम्म सक्ने बैठकले निर्णय लिएको छ । अन्य कार्यतालिका भने बैठकले जस्ताको त्यस्तै अनुमोदन गरेको हो । क्रियाशील सदस्यताको वितरण, नवीकरण साउन मसान्तभित्र सक्ने र भदौ मसान्तभित्र सदस्यताको सूची केन्द्रमा पठाई सक्न मातहतका स्थानीय निकायलाई निर्देशन गरेको छ ।
जसअनुसार भदौ मसान्तभित्र क्रियाशील सदस्यताको सूची केन्द्रमा पठाउने, असोज मसान्तभित्र क्रियाशील सदस्यतामाथि उजुरी र कात्तिक मसान्तभित्र क्रियाशील सदस्यतामाथि पुनरावेदन दिने छ ।
यस्तै मङ्सिर २५ भित्र क्रियाशील सदस्यताको विवाद टुङ्ग्याउने र मङ्सिर मसान्तभित्र क्रियाशील सदस्यताको सूची निर्वाचन समितिलाई बुझाउने छ ।