प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने उपाकर्म, ऋषितर्पणी र रक्षाबन्धन यसपटक भने यहि साउन १९ गते सोमबार परेको छ। विधिपूर्वक स्नान, ऋषि तर्पण र हातमा डोरो बाँधी यो पर्व मनाईन्छ।
सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन तथा विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेको रक्षाबन्धनको परम्परा आज पनि उत्तिकै प्रचलित छ।
सोही कारण रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितहरूले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेनी त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको हो।
मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरूले यजमानको नाडीमा बाँधिदिने गरिन्छ।
यसैदिन तागाधारीले आफ्नो जनै (यज्ञोपवित) फेर्छन्। यसका लागि अघिल्लो दिनदेखि नै कपालमुण्डन गरी एक छाक मात्र खाएर चोखोनितो गरी बसिन्छ। यसरी व्रत बसेका तागाधारीले उक्त दिन बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन र सप्तमातृका लगाएर स्नान गर्छन्। यसलाई श्रावणी स्नान पनि भनिन्छ।
स्नानपछि जौ, तिल र कुशद्वारा ऋषिलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै फेरिन्छ। कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम,जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले यो दिनलाई ऋषितर्पणी पनि भन्ने गरिएको छ।
हिन्दु दर्शनअनुसार जनैलाई ब्रह्मासूत्र अर्थात ज्ञानको धागो पनि भनिन्छ। जनैका दुई शिखामध्ये एउटामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को शिखाको डोरालाई कर्म, उपासना र ज्ञानका तीन योग मानिन्छ। जनै शब्दको अर्थ जनाउनु अथवा जानकारी दिनु हुन जान्छ। अत: जनै धारण गर्ने व्यक्तिका लागि अन्य व्यक्तिलाई जनैले धेरै कुराको जानकारी दिइरहेको हुन्छ।
धार्मिक शास्त्रअनुसार मनमस्तिष्क र चित्त शुद्धिका लागि व्रतबन्ध गरिन्छ। शरीरमा रहेका सूक्ष्म विन्दुहरूमा स्पर्श गर्दै नाभीसम्म जाने कपासको सूत्र धारण गर्न हवन, यज्ञ, मन्त्रपाठ आदि गरी ब्राह्मणले जनै लगाइदिन्छन्। यो डोरीले शरीरमा रहेका रोमकुप, मुटुको बाहिरी विन्दु, फोक्सोको बाहिरी विन्दु र नाभीको बाहिरी भागलाई स्पर्श गर्छ।
यसै दिन ११ थरिका गेडागुडी मिसाई भिजाएर टुसा उमारी क्वाँटी खाइन्छ। क्वाँटी खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रैदेखि तापको सञ्चार गर्छ भन्ने मान्यता छ।
नेपालको तराई क्षेत्रमा भने उक्त दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर मनाइन्छ। यो भारतीय संस्कृतिको प्रभाव पनि हो। यसबाट दिदीबहिनी र दाजुभाइबीच प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ।








