शिक्षक शब्दमा प्रयोग भएको अक्षर शि ले शिखरमा लैजाने मान्छे, क्ष ले क्षमा गर्ने ब्यक्ति र क ले कमजोरी दुरी गर्ने ब्यक्ति लाई जनाउछ ।शिक्षक त्यो हो जसले सिकाइका लागी प्रेरणा दिने बाटो देखाउने निर्देशित गर्ने हौसला प्रदान गर्ने र ज्ञानलाई माया गर्ने गर्दछ । कहिले शिक्षकलाई आफू जलेर अरुलाई उज्यालो बनाउने बत्तिसंग तुलना गर्ने गरिन्छ त कहिले नदीमा डुङगा खियाउने माझी जस्तै शिक्षक पनि हो भन्ने गरिन्छ । भनिन्छ “शिक्षक उड्यो भने , विद्यार्थी दौडन्छ । शिक्षक दौडियो भने, विद्यार्थी हिडछ । शिक्षक हिडयो भने, विद्यार्थी सुत्छ । शिक्षक सुत्यो भने, विद्मार्थी मर्छ ।” यी माथिका वाक्यांश बाट नै स्पष्ट हुन्छ कि “गुरुर्बह्मा गुरुबिष्णु ः गुरुदेव महेश्वर । गुरु साक्षात परंर्बह्म तस्मै श्री गुरुदेव नम ।” तर पछिल्लो समयमा आएर हाम्रो समाजले शिक्षकको अर्थ र महत्व नै बिर्सिसकेको आभाष भएको छ । कोही शिक्षक बाट कुनै बेला गल्ती पनि नभएका होइनन् तर कुनै एकको गल्तीलाई सम्पूर्ण माथि थोपर्ने त ?

बढदै गएको आधुनिकता संगै बिभिन्न सामाजिक सञ्जालको प्रयोग बढदै जानु पनि स्वभाविक हो । पछिल्लो समयमा आएर बिभिन्न सामाजिक सञ्जालहरुमा शिक्षकहरु माथिको अनैतिक र अस्वभाविक क्रिया प्रतिक्रियाहरुले शिक्षकहरुको मनोबल नगिराउला भन्न सकिदैन । हाम्रो समाजमा अहिले ब्यापारी, दलाली, निजामति कर्मचारी, नेता आदि भन्दा पनि शिक्षक पेशालाई तल्लो रुपमा हेर्ने गरिन्छ जबकी यी सबै बर्गका ब्यक्ति उत्पादन गर्ने नै शिक्षकले हो । यसको प्रत्यक्ष उदाहरण म आफैले भोगेको छु । एक दिनको कुरा हो म विद्यालयबाट घर फर्कनको लागी बाटोमा गाडी पर्खदै थिए अचानक मेरो साथी जो कक्षा १२ सम्म संगै पढेको थिया,े उसले मेरो छेउमा आएर कार रोक्यो र भन्यो ओहो साथी तिमी, किन बाटोमा उभिएको आऊ संगै जाउ म पनि तिम्रो घरतिर जादैछु । त्यति सुन्नासाथ मलाई नि के खोज्छस कानो आखो भनेजस्तै भयो र म पनि उसको गाडीमा बसिहालँे । बाटोमा हिडने क्रममा भलाकुसारी हुदै थियो । यत्तिकैमा उसले भन्यो ठिकै भो बेलैमा पढाइ छोडेर ब्यापारतिर लागियो अहिले मसंग ३,४ ठाउमा घडेरी छ जग्गाको पनि राम्रै कारोबार भैराछ । जे होस समयमै पढाइ छोडेर राम्रो भो । अनि साच्चै तिम्रो महिनाको तलब कति छ नि ? मैले उसलाई तलब सुनाए अनि उसले फेरि थप्यो मात्रै त्यति । यति मेहनत गरेर डिग्री गर्यौ अनि कमाई चाहिँ मेरो २ दिनको जति । यस विषयमा मैले एउटा मात्र जवाफ दिए सबै कुरा पैसासंग मात्र तुलना गर्न मिल्दैन मित्र । यो त केवल एउटा प्रतिनिधि घटना मात्र हो यस्ता सोँच विचार राख्ने अधिकांश मानिसहरु बस्ने गर्छन् हाम्रो समाजमा ।
अहिले यो एस.ई.ई. को नतिजाको सम्बन्धमा पनि सामाजिक सञ्जालहरुमा विद्यालय तथा शिक्षकहरु माथि नकारात्मक टिकाटिप्पणी भइरहेको पाइएको छ । कक्षा १ देखि ९ सम्म विद्यालय तथा शिक्षक हरुले अंक दिदा हुने र अहिलेको यो विषम परिस्थितिमा आन्तरिक मुल्यांकनको आधारमा विद्यालयले अंक दिदा यति धेरै वितण्डा मच्चाउनुपर्ने ?
शिक्षक त्यस्ता प्राणी हुन् जसले सधँै विद्यार्थीको भलो चाहन्छन । अर्को कुरा यो परिस्थितीमा शिक्षकहरु सम्भव भएसम्मका हर प्रयासहरु अपनाउदै आफना विद्यार्थीहरुलाई शिक्षा दिईरहेको कुरा त सर्वविदितै छ र सम्भव नै नभएका कारण केही शिक्षकहरु घरमै बस्न बाध्य छन । यही विषयलाइ अनर्थ लगाएर शिक्षकहरुलाई किन तलब दिनु पर्यो भन्ने कुरा पनि आइराखेका छन् । स्मरण रहोस तपाईहरु जस्ता ब्यक्ति, मन्त्री, व्यापारी, डाक्टर, ईन्जिनियर, कानुनविद् आदि उत्पादन गर्ने शिक्षक नै हुन् ।
हाम्रो समाजमा जबसम्म हरेक कुरालाई पैसासंग मात्र तुलना गरिन्छ तबसम्म न त भ्रष्टाचार रोकिन्छ न त समाजको उन्नति प्रगति नै हुन्छ । सदियाँैदेखि राज्यको ढुकुटी विभिन्न तरिकाले दोहन गर्ने अनि राष्टिय हित विपरित कार्य गर्ने ब्यक्तिलाई कारवाही गर्न नसक्नेहरुले एउटा स्वच्छ इमान्दार पेशामा लागेकाहरुलाई आत्मबल कमजोर पार्ने टिकाटिप्पणी रोक्नु पर्छ । अनि मात्र समृद्ध र समुन्नत राष्टको कल्पना गर्न सकिन्छ ।
–रेशम खराल
वा.न.पा. ११ मर्थी क.व.







