गृहपृष्ठ कृषि प्युठानमा बन्यजन्तुले मकै सखाप पारेपछी किसान चिन्तित

प्युठानमा बन्यजन्तुले मकै सखाप पारेपछी किसान चिन्तित

प्युठानमा पाक्नै लागेको मकैबाली जंगली बन्यजन्तुले सकाउन थालेपछी किसान चिन्तित बनेका छन। जिल्लाको अधिकांस स्थानहरूमा बाँदर, बदेल, भालु, दुम्सी लगायतका जनावरले मकैबाली खाइदिन थालेपछी किसान चिन्तित बनेका हुन।
कोरोना कहर र लकडाउनका कारण यसै त मर्कामा परेका किसान, झनै पालैपालो कहिले फौजी किरा, कहिले सलह किरा, कहिले हावाहुरी भने कहिले जंगली बन्यजन्तुले खेतबारीमा लगाएका अन्नबाली सबै नष्ट पारिदिएपछी किसानहरु निकै चिन्तामा छन।
जिल्लाको स्वर्गद्वारी नगरपालिका-९ जुगेनामा भर्खर पोलिखाने (पोलेर खाने) भैसकेका मकैबाली भालु, बाँदर र दुम्सीले खाइदिएपछी त्यहाँका कृषक पनि चिन्तामा छन। त्यहाँका स्थानिय कृषक खिम बहादुर घर्ती मगरले भन्नुभयो, ” दु:ख गरि लगाएको मकैबाली सबै भालु र दुम्सीले खाइदियो। जहान (परिवार) कसरी पाल्ने हो चिन्ता लागेको छ।” यसपालीको सिजनमा २/४ डोको मकै पनि घर भित्र्याउन नपाइने अबस्था आएको भन्दै उहाँले भन्नुभयो, “६ महिना कहिँ-कतै कमाउन नगएपनी बारिमा फलेका मकैले खान पुग्थ्यो। अब मकै पनि छैन, यस्तो कोरोना कहर चलेको बेला कमाउन पनि कहाँ जानु? परिवार कसरी पाल्नु? निकै चिन्ता लाग्छ। रातभरी निन्द्रापनी लाग्दैन।”
त्यस्तै अर्का कृषक धनीदेबि घर्ती मगरले भन्नुभयो, “यसपाली त मैले अरुको बारी पनि मकै आधा-आधा गराउने सर्तमा लगाएकी थिए। त्यति मेहनत गरेर लगाएको मकै सबै जंगली जनवारलाई भयो। मान्छे त अब भोकभोकै मर्ने होला। कमाउने मान्छे श्रीमान हुनुहुन्छ। उहाँपनी कोरोनाले गर्दा इन्डियाबाट घर आएर बसेको ७ महिना भैसक्यो। अब कसरी, के खाएर बाच्ने भन्ने चिन्ता लाग्छ।”
त्यहाँ अहिले सबैभन्दा बढी मकैबाली भालु र दुम्सीले सकाएको छ। केही बर्ष अघि सोही ठाउँबाट बसाई सरि गएका अर्का कृषक पुर्ण बहादुर घर्ती मगरले यो ठाउँमा बसि बर्खेबाली भित्र्याउन निकै सकस पर्ने बताउनु भयो। उहाँले भन्नुभयो, “मैलेपनी यो ठाउँमा निकै दु:ख गरे तर जंगली बन्यजन्तुले बर्खेबाली कहिल्यै राम्ररी भित्र्याउनै दिएन। अन्तिममा मैआफै हार मानेर गाउँ छोडी गए।” उहाँका अनुसार यो समस्या यसपालिको मात्र नभई धेरै बर्षदेखी भालु, दुम्सी र बदेलले सताउने गरेको बताउनुभयो।
जंगलको बिचमा गाउँ बसेकाले पनि जंगली बन्यजन्तुलाई मकैबारीमा प्रबेश गर्न त्यति अप्ठ्यारो पर्दैन। रातभर भालु र दुम्सी लखेट्नु पर्ने र दिनमा बाँदर लखेट्नु पर्ने भएकाले निकै समस्या भएको त्यहाँका किसानको भनाई छ।

सम्बन्धित् समाचार