गृहपृष्ठ खबर अर्घाखाँचीमा भीषण पहिरो गएपछि तीन सय घर जोखिममा

अर्घाखाँचीमा भीषण पहिरो गएपछि तीन सय घर जोखिममा

प्रकाशित मिति:

अर्घाखाँची : अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्वर ११ र १२ मा जमिन भासिएर पहिरो जाँदा सिंगो क्षेत्र नै जोखिमपूर्ण बनेको छ । पहिरोले घर भत्कदा त्यस क्षेत्रका ३१ घर परिवार खुल्ला आकाश मुनी बस्न बाध्य भएका छन्। शनिबार वडा नम्वर १२ को कोठिया मैदान र वडा नम्वर ११ को ढुङ्गेसेरा क्षेत्रमा स्थलगत अवलोकन गरेको जिल्ला विपद व्यवस्थापन समितिले झण्डै ३ सय घर पहिरोको जोखिममा रहेको निर्णय गरेको छ।

सोमबार सन्धिखर्कमा बसेको जिल्ला विपद व्यवस्थापन समितिको बैठकले जमिन भासिएर पहिरो जाँदा भएको एकिन क्षतीको विवरण संकलन गर्न र आवश्यक्ताको पहिचान गर्न सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम थापाको संयोजकत्वमा एक समिति बनाएको छ। घर भत्किएका र पहिरोको जोखिम रहेको गाउँलाई स्थानान्तरण गर्न ठाउँको खोजी गर्न शितगंगा नगरपालिकाका नगर प्रमुख सुर्य प्रसाद अधिकारीको संयोजकत्वमा समिति गठन गरेको छ।

उक्त स्थानमा जमिन धुजाधुजा भएर फाटेको छ। शितगंगा नगरपालिकाको वडा नम्वर १२ कोठिया मैदान क्षेत्र र वडा नम्वर ११ को ढुङ्गेसेरा क्षेत्रमा जमिन भासिँदा त्यस क्षेत्रकै ३ सय घर जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद पौडेलले बताए। वडा नम्वर १२ को कोठिया मैदानमा २६ घर पुर्ण रुपमा भत्किएका छन्। ४६ घर पहिरोको उच्च जोखिममा र झण्डै १ सय घर जोखिममा रहेका छन्। वडा नम्वर ११ को ढुङ्गेसेरा क्षेत्रमा जमिन भासिदा ५ घर पुर्ण रुपमा भत्किएका छन्। ११ घर परिहोको उच्च जोखिममा रहेको र झण्डै २ सय घरको सिंगो क्षेत्रनै पहिरोको जोखिममा रहेको शितगंगा नगरपालिका वडा नम्वर ११ का वडा अध्यक्ष कपिल आलेले बताए।

गत शुक्रबार दिउसो कोठियामैदान र ढुङ्गेसेरा क्षेत्रमा एक्कासी चारै तिर बाट जमिन भासिएर पहिरो गयो। गाँउ देखिमाथी गएको पहिरोले केही घर बगायो तर अधिकांश घर भने पहिरो नआए पनि ढलेर नष्ट बने। १० मिटरको दुरीमा रहेका २ घर अहिले करिव ४० मिटरको दुरीमा पुगेको शितगंगा नगरपालिका वडा नम्वर १२ का वडा अध्यक्ष बाबुराम गैरेले भने। उनले भने पानी बग्ने खोल्साहरु अग्लो अवस्थामा छन् भने अधिकांश बिजुलीका पोलहरु भुइँमै लडेका छन बिजुलीका तारहरु चुँडिएका छन्। सम्म रहेका खेतहरु अहिले भिरालो बनेका छन् झट्ट हेर्दा भूकम्पले तहसनहस पारे जस्तो देखिन्छ। त्यस क्षेत्रका सबै गाउँलेनै त्रसित छन्। प्रलय आए सरी सिंगो गाउँको जमिन भासिएर पहिरो गएको छ।

 

सम्बन्धित् समाचार