काठमाडौं : आइपिएलमा मुम्बई इन्डियन्स अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। आइतबार साँझ भएको खेलमा मुम्बईले सनराइजर्स हैदरावादलाई ३४ रनले हराएको हो। मुम्बईले ५ खेलबाट ६ अंक जोडेको छ। रनरेटमा पछि पर्दै दोस्रो स्थानमा झरेको दिल्लीले ४ खेलबाट ६ अंक बटुलेको छ।
६ अंक जोडेको अर्को टिम रोयल च्यालेन्जर्स बेंग्लोर तेस्रो स्थानमा छ। आइतबार शारजाहमा भएको खेलमा पहिले ब्याटिङ गरेको मुम्बईले ५ विकेटको क्षतिमा २०८ रन जोड्यो।
मुम्बईका लागि क्वान्टन डे ककले ६७ रन जोडे। इशान किसनले २३ बलमा ३१ रन बटुले। हार्दिक पाण्ड्याले २८ रन जोड्दा केइरन पोलार्ड २५ रनमा नटआउट रहे। क्रुनाल पाण्ड्याले ४ बलमा २ चौका र २ छक्का हिर्काउँदै नटआउट २० रन जोडे।
बलिङमा हैदरावादका सन्दीप शर्मा र सिद्धार्थ कउलले २/२ विकेट लिए। रासिद खानको नाममा १ विकेट रह्यो। २०९ रनको लक्ष्य पछ्याएको हैदरावादले २० ओभरमा ७ विकेटको क्षतिमा १७४ रन जोड्यो।
उसका लागि कप्तान डेभिड वार्नरले ६० रन जोडे भने मनिष पाण्डेले ३० रनको योगदान दिए। जोनी वायस्टोले २५ रन बनाए।
बलिङमा मुम्बईका ट्रेन्ट बोल्ट र जेम्स प्याटिनसनले २/२ विकेट लिए।